१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

गोर्खाली रग्बी लिग च्याम्पियन

गोर्खाली रग्बी क्लबले शनिबार राष्ट्रिय फिफ्टिन्स रग्बी लिग च्याम्पियनसिपको उपाधि जितेको छ।

दशरथ रंगशालामा गोर्खालीले डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई ६६–७ को स्कोरमा हराउँदै उपाधि उचालेको हो। पाँचौं पटकको प्रयासमा गोर्खाली च्याम्पियन बन्न सफल भयो। यसपटक अनुभवी विदेशी खेलाडी लिएर उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा होमिएको गोर्खालीले पछिल्ला चार संस्करणको विजेता आर्मीलाई हराउन सफल भयो।

 गोर्खाली भने पछिल्ला चारै संस्करणको उपविजेता टोली हो। गोर्खाली यस पटक अपराजित रहँदै च्याम्पियन बन्यो। गोर्खालीले पहिलो खेलमा पुलिस क्लबलाई ५४–३ को स्कोरमा र दोस्रो खेलमा एपिएफलाई ४९–२० को स्कोरमा पराजित गरेको थियो।

बलियो आर्मीलाई पनि हराउँदै गोर्खाली ९ अंकसहित च्याम्पियन बन्यो। गोर्खाली क्लबले रनिङ ट्रफीसहित एक लाख रूपैयाँ नगद पुरस्कार जित्यो। प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब दोस्रो बन्यो। लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ७७–६ को स्कोरमा हराउँदै एपिएफ उपविजेता बनेको हो।

एपिएफले सात अंक जोड्यो। एपिएफले ट्रफी, पदकसहित ५० हजार रूपैयाँ नगद प्राप्त ग¥यो। च्याम्पियनसिपमा तेस्रो भएको आर्मीले पाँच अंक जोड्यो। चार क्लबले प्रतिस्पर्धा गरेको लिगमा नेपाल पुलिस क्लब तीन अंकका साथ अन्तिममा रह्यो।

प्रतियोगितामा एपिएफका प्रमेश चौधरी उत्कृष्ट खेलाडी घोषित भए। उनले पाँच हजार नगद पुरस्कार हात पारे। लिगमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई समेटेर राष्ट्रिय टोली निर्माण गरिने आयोजक नेपाल रग्बी संघले जनाएको छ।

लिगलाई आगामी वर्षमा थप विस्तार गर्दै लैजाने योजना रहेको संघका अध्यक्ष दीपक देवकोटाले बताएका छन्। विजेतालाई पूर्वमन्त्री हितबहादुर तामाङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, सदस्य सम्राटकुमार कुसारी, दीपक देवकोटालगायतले पुरस्कृत गरे। 

प्रकाशित: १३ फाल्गुन २०८० ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App