१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

मकवानपुर गोल्डकपः एपिएफ र एनआरटी फाइनलमा

बल अगाडी बढाउँदै एपिएफका अनिष महर्जन। तस्बिर: नागरिक

छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्ड कपको उपाधिका लागि सशस्त्र प्रहरीको एपिएफ र न्यूरोड टिम (एनआरटी) भिड्ने भएका छन्।

प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत बिहीबार भएको खेलमा एपिएफले बागमती युवा क्लब सर्लाहीलाई हराउँदै एनआरटीसँगको फाइनल भिडन्त पक्का गरेको हो।

एनआरटी पहिलो सेमिफाइनलबाट धनकुटाको राजारानी युवा क्लबलाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ। बिहीबारको खेलमा एपिएफले बागमतीमाथि ४–० फराकिलो जीत निकालेको हो।

४४ औं मिनेटमा अनिष महर्जनको गोलमार्फत एपिएफले अग्रता लिएको हो। बागमतीका गोलरक्षक रविन बस्नेतबाट रिबाउण्ड आएको बललाई उनले हेडमार्फत पोष्टको दिशा दिएका हुन्।

६० औं मिनेटमा एपिएफले प्रदीप लामाको गोलमार्फत अग्रता दोब्बर बनायो। ८१ औं मिनेटमा एपिएफका सर्ज संगले अर्को गोल थपे। फोडे फोफोनाले निकालेको बललाई उनले गोल गरेका हुन्।

९० औं मिनेटमा एपिएफका लागि फोडे फोफोनाले अन्तिम गोल गरे। बागमतीले गोल गर्ने केही मौका पाएपनि सदुपयोग गर्न नसक्दा हार व्यहोर्दै खेलबाट बाहिरिएको छ।

२२ औं मिनेटमा बागमतीका सिर्जन गौतमको प्रहार पोष्ट नजिकैबाट बाहिरियो। ३३ औं मिनेटमा बागमतीका अभी लामाले गोल गर्ने सुन्दर मौका खेर फाले।

सिर्जन गौतमको वान भर्सेस वान प्रहारलाई गोलरक्षक एन्जल श्रेष्ठले पन्च गरेपछि प्राप्त बललाई उनले पोष्टको दिशा दिन सकेनन्। पहिलो हाफमा एक गोलले पछि परेको बागमतीले दोस्रो हाफको सुरुवातीमा केही राम्रा मुभ बनाएपनि गोल गर्ने सकेन।

४८ औं मिनेटमा बागमतीका राज भुषालको प्रहारलाई एपिएफका गोलरक्षक श्रेष्ठले बचाए। लगत्तै बायाँ भागबाट आएको बललाई एपिएफका डिफेण्डरलाई बिट गर्दै सिर्जन गौतमले गरेको प्रहार आकासियो। खेलको म्यान अफ द म्याच एपिएफका पहिलो गोलकर्ता अनिष महर्जन घोषित भए। उनले नगद दश हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

बागमती क्लबका प्रशिक्षक सुनिल श्रेष्ठले केही राम्रो मौकालाई सदुपयोग गर्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए। ‘पाएको मौका सदुपयोग गर्न सकेनौँ। दोस्रो हाफमै तीनवटा मौका गुमायौं’, उनले भने, ‘फिनिसिङमा चुक्यौं।’

यता एपीएफका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो योजना अनुसार नै खेलाडीको प्रदर्शन भएको भन्दै खुसी व्यक्त गरे। ‘जित चाहेका थियौं, जित्यौं’, उनले भने, ‘पहिलो हाफमै गोल गर्ने योजना थियो। योजना अनुरुप नै खेल्न सक्यौं।’

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा–६, गौरीटार रंगशालामा छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप सञ्चालन भइरहेको हो। 

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्टले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।

प्रकाशित: २५ माघ २०८० २०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App