१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

मच्छिन्द्रलाई हराउँदै एपीएफ क्वार्टरफाइनलमा

बलको लागि भिड्दै एपीएफ र मच्छिन्द्रका खेलाडी।

स्टार खेलाडीले भरिएको मच्छिन्द्र फुटबल क्लबलाई स्तब्ध बनाउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब छैटौँ मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ।

हेटौँडाको गौरिटार रङ्गशालामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप अन्तर्गत बिहीबार भएको खेलमा मच्छिन्द्रलाई निराश बनाउँदै एपीएफ क्वार्टरफाइनल प्रवेश गरेको हो। सुरुवाती अग्रता एपीएफले नै लिएको खेल निर्धारित समयमा एक÷एक गोलको बराबरी भएको थियो। खेलमा टाइब्रेकरमार्फत निर्णय लिइएको थियो। टाइब्रेकरमा एपीएफ ४–३ गोल अन्तरले विजयी भएको हो। टाइब्रेकरमा एपीएफका गोलरक्षक एन्जल श्रेष्ठ नायक बने। उनले मच्छिन्द्रको दुई वटा प्रहारलाई रोकेका थिए।

मच्छिन्द्रका विमल घर्ती मगर, चिजोवा क्रिस्टोफर र सौरभ लिम्बुको प्रहार गोलमा परिणत हुँदा सनिस श्रेष्ठ र ओमोलाजा करिमको प्रहारलाई एपीएफका गोलरक्षक श्रेष्ठले रोके। एपीएफको तर्फबाट एनिसेट, कुलदिप कार्की, दिपेश धिमाल र फोडे फोफनाको प्रहार गोलमा परिणत भएको थियो। खेलमा भने सुरुवाती अग्रता एपीएफले नै लिएको थियो। ३९ औं मिनेटमा एनिसेटको गोलमार्फत एपीएफले अग्रता लिएको थियो। कुलदीप कार्कीले प्रहार गरेको फ्रिकिकलाई उनले हेडमार्फत गोल गरेका हुन्। ७२ मिनेटमा विमल घर्ती मगरको गोलमार्फत मच्छिन्द्र खेलमा फर्कियो।

मनिष डाँगीको स्थानमा मैदान प्रवेश गरेका सौरभ लिम्बुले गरेको क्रसलाई सदुपयोग गर्दै घर्तीले हेडमार्फत गोल गरेका हुन्। निकै प्रतिस्पर्धात्मक खेलको ३६ औं मिनेटमा मच्छिन्द्रका उत्सव राईको सशक्त प्रहार पोष्टमाथिबाट बाहिरियो। अतिरिक्त समयमा एपीएफका फोडे फोफनाको प्रहारलाई मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले मुस्किलले जोगाए। मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले टिम सेट नहुँदै गोल व्यहोर्दा प्रेसर परेको प्रतिक्रिया दिए। ‘खेलाडीहरूले सकेको राम्रो खेले। टाइब्रेकरमा पनि भाग्यले साथ दिएन’, उनले भने।

यता एपीएफका प्रशिक्षक सुमन श्रेष्ठले आफ्ना खेलाडीहरूले सोचेझैँ राम्रो खेलेको र जित निकाल्न सफल भएको प्रतिक्रिया दिए। ‘पहिलो हाफ राम्रो भयो। दोस्रो हाफमा अलि प्रेसर पर्‍यो। जित्नै पर्ने खेल थियो, जित्यौँ।’ जारी प्रतियोगितामा शुक्रबार नेपाल पुलिस क्लब र राजारानी क्लब धनकुटाको बीचमा खेल हुनेछ। २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले दश लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। अघिल्लो संस्करणको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको थियो।

प्रकाशित: १८ माघ २०८० १३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App