२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

‘गान्धार’ विरुद्ध चल्ला त? अर्जुनको ‘गाण्डीव’!

आइसिसी यु–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले आज दिउँसो अफगानिस्तानसँग खेल्दै छ। साउथ अफ्रिकाको ‘बफेलो पार्क’मा सुरु हुने खेलमा अङ्कविहीन नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ।  

यस्तोमा फेरी धेरैको दृष्टि अर्जुन कुमाल माथि परेको छ। न्यूजिल्याण्डविरुद्ध  ९० रनको पारी खेलेर चर्चामा आएका कुमालले पाकिस्तानविरुद्ध आफ्नो जादु नदोहराउँदा धेरै निराश बने। यस्तोमा  नेपाली टोलीका फ्यानको लागि अर्जुन नै आशाको किरण बनेका छन्। उनीहरूले अफगानिस्तान विरुद्ध अर्जुनको ब्याट चल्न सक्ने सङ्केत गरेका छन्।  

‘यस अगाडिको खेलमा पनि अफगानिस्तानविरुद्ध अर्जुनको ‘गाण्डीव’ चलेको थियो,’ सामाजिक सञ्जालमा नरेश कार्की लेख्छन्, ‘आज पनि उनको ‘ब्याट’  चल्ने आशा पालेका छौ।’

नेपाल र अफगानिस्तान पछिल्लो पटक गत डिसेम्बरमा युएईको आइसिसी ओभल एकेडेमीमा भिडेका थिए। नेपाल ७३ रनले पराजित भएको  त्यो खेलमा अर्जुन कुमालले ९१ रन बनाएका थिए। उनले त्यही जादु दोहोराए खेल जित्न सकिने धेरैले आशा गरेका छन्।  

त्यो बाहेक विगतका अन्य खेलमा पनि अर्जुनले उत्कृष्ट ब्याटिङ गरेका कारण धेरैले उनीबाट अपेक्षा राखेका छन्। गत वर्ष फेब्रुअरीमा युएईमा आयोजना भएको आइसिसी यु–१९ विश्वकप एसिया क्षेत्र छनोटबाट यु१९ राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले पाँच इनिङ्समा १८५ रन बनाए। जसमा कुवेतविरुद्ध ११२ बलमा १२ चौकासहित १०८ रनको शतकीय इनिङ्स पनि थियो।

त्यस्तै गत अक्टोबरमा मलेसियामा आयोजना भएको यु१९ एसीसी प्रिमियर कपको उपाधि जिताउँदा पनि उनले नेपालका लागि महत्त्वपूर्ण इनिङ्स खेले। साउदी अरबविरुद्धको खेलमा १११ बलमा १७ चौका र २ छक्कासहित १४३ रन प्रहार धेरैले भुलेका छैनन्। किनकि यो कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा एकै इनिङ्समा सर्वाधिक रन बनाउने नेपाली खेलाडीको कीर्तिमान हो।

त्यस्तै एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउन ५५ रनको अर्धशतकीय इनिङ्स उनले खेलेका थिए।  

आजको खेल जसले जित्यो त्यो  टोली सुपर सिक्समा पुग्नेछ। यस अघि नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो। विगतका खेलमा अफगानिस्तानसँग नेपाली टोलीको पराजित श्रृखला भएपनि अर्जुनको ९१ रनको पारीले धेरैलाई आशा जगाएको हो।  

अनि अर्को कुरा अहिलेको खेलमा अफगानिस्तानको प्रदर्शन पनि त्यति उत्साहजनक छैन। नेपालले जस्तै उसले पनि यस अघि पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो।

समूह ‘डी’ मा अङ्कविहीन रहेका यी दुवै टोली  आज खेल जितेर  सुपर सिक्समा पुग्न चाहन्छन्। अर्जुन आजको खेलमा पनि नेपालका प्रमुख ब्याटर हुन्। त्यसैले धेरैले उनको राम्रो  प्रदर्शनको अपेक्षा राखेका छन्। अर्जुनको ‘गाण्डीव’ अर्थात् ब्याट चलेमा नेपालले ‘गान्धार’ अर्थात् अफगानिस्तानलाई पराजित गर्दै सुपरसिक्समा प्रवेश गर्ने छ ।   

प्रकाशित: १२ माघ २०८० ०४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App