गणतन्त्र कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा १३औं कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिप आज (सोमबार)बाट सुरु भएको छ।
नेपालस्थित दक्षिण कोरियाली दूतावासको आर्थिक सहयोग र नेपाल तेक्वान्दो संघको आयोजनामा पाँच दिने प्रतियोगिता सुरु भएको हो। उक्त प्रतियोगिताको नेपाल खेलकुद परिषदका अधिकारी र कोरियाली राजदूत पार्क थे यङले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरे। उक्त प्रतियोगितामा ख्यरोगी र पुम्से गरी कुल १०३ स्वर्ण पदकका लागि करिब १५ सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।
उद्घाटन समारोहमा राजदूत पार्कले कोरियाको परम्परागत मार्शल आर्ट तेक्वान्दोले विश्वव्यापी खेलको रूपमा विकसित भएको उल्लेख गर्दै अनुशासन, सम्मान र धैर्यको मूल मूल्य मार्फत विभिन्न पृष्ठभूमिका व्यक्तिहरूलाई एकताबद्ध गरेको बताए। त्यसैगरी विभिन्न खेल विधाका माध्यमबाट नेपाल र कोरिया बीचको आपसी सहयोगलाई निरन्तरता दिन प्रतिबद्ध रहेको उनले धारणा राखे।
विशेषगरी खेलकुद र खेल संस्कृतिको क्षेत्रमा तेक्वान्दोले नेपालमा विश्व स्तरमा उत्कृष्ट नतिजा हासिल गरिरहेको प्रसंग पनि उनले उठाएका थिए। सन् २०२४ पेरिस पाराओलम्पिकमा पलेशा गोवर्धनले कास्य पदक जितेर नेपालको इतिहास रचेको क्षणले ठुलो खुशी मिलेको व्यक्त गर्दै उनले खेलकुद मार्फत दुई देशको मित्रवत सम्बन्ध बलियो हुँदै गएको उल्लेख गरे।
उद्घाटन समारोहमा मन्तव्य राख्दै पूर्व युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले कोरिया र नेपाल दुई देशबीच विगतदेखिको सुमधुर तथा सन्तुलित सम्बन्धको खुलेर प्रसंसा गरे।
१३औँ एम्बासेडर कप च्याम्पियनसिपमा चार छिमेकी देशहरू (भारत, पाकिस्तान, बंगलादेश र भुटान)को सहभागिताले एम्बासडर कप, अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा विस्तार हुन सफल भएको छ।
प्रकाशित: १५ मंसिर २०८२ १७:४८ सोमबार




-600x400.jpg)
