१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

ललितपुर सिटी च्याम्पियन, एनएसएलमा फेरि चुक्यो धनगढी

च्याम्पियन ललितपुर सिटीलाई ट्रफी हस्तान्तरण गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्टकी अध्यक्ष आश्रयता कार्की चौधरी। तस्बिर सौजन्य : विशाल पन्थ

क्षमताभन्दा पनि बढी दर्शकको साथ पाएको नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा पनि धनगढी एफसी उपाधि जित्न असफल बनेको छ।

दशरथ रंगशालाको सिट क्षमता १५ हजार मात्र हो। तर, शनिबार ललितपुर सिटी र धनगढी एफसीबीचको फाइनलपछिको म्याच रिपोर्टमा नै १५ हजार पाँच सय दर्शक उपस्थित रहेको उल्लेख छ। टिकट किनेर पनि खेलको मध्यान्तर हुँदासम्म करिब तीन हजार हाराहारी दर्शक भित्र पस्ने पर्खाइमा थिए। नजिक रहेको वल्र्ड ट्रेड सेन्टरलगायतका रेस्टुरेन्ट खचाखच थिए। 

घरेलु मैदानमा भएको १९औं दक्षिण एसियाली खेलकुद (साग) पछि सम्भवतः पहिलो पटक रंगशालामा यो दृश्य देखियो, जुन फुटबलका लागि सुखद पक्ष हो। तर, लगातार दोस्रो पटक फाइनलमा पुगेर पनि उपाधिबाट वन्चित धनगढीका लागि भने फाइनल बिर्सनलायक नै बन्यो।

युरोपा लिग खेलेका फलाउ डियाग्नेसहित घरेलु लिगका चर्चित विदेशी खेलाडी अफिज ओलावाले र फोडे फोफानाको साथ पाएको धनगढी यस पटक पनि फाइनलमा पुग्नुलाई सबैले स्वाभाविक रूपमा लिएका थिए।

तर, फाइनलमा धनगढीको प्रदर्शन स्वाभाविक रहेन, आशातीत हुन सकेन। त्यससँगै धनगढी ललितपुर सिटीसँग ३-२ ले स्तब्ध भयो। त्यो हारपछिको पत्रकार सम्मेलनमा धनगढीका प्रशिक्षक युगलकिशोर राई आफू बोल्न सक्ने अवस्थामा नै नरहेको उल्लेख गर्दै निराश देखिए।

‘आजको खेलमा हामी निकै थकित देखियौं। लगातार तीन खेल खेलेर आएको ललितपुरभन्दा हामी बढी थकित देखियौं,’ उनले भने, ‘सोचेअनुरूप खेल नै हुन सकेन।’ एक गोलको अग्रता लिए पनि धनगढीले फाइनलमा समालिएको प्रदर्शन गर्न सकेन र सजिलै नतिजा सुम्पियो। यसअघि पहिलो सिजनको फाइनलमा पनि धनगढी काठमाडौं रेजर्ससँग स्तब्ध भएपछि उपाधिविमुख भएको थियो। यस सिजन उपाधि जित्ने अवसर भए पनि धनगढीले सदुपयोग गर्न सकेन।  

सर्वोत्कृष्ट खेलाडी अनन्त तामाङ

सुरुआती अग्रता जोगाउन सकेन र उल्टै तीन गोल बेहोर्‍यो। अग्रता लिएपछि खेलको एक घण्टाभन्दा बढी समय बाँकी भए पनि धनगढीले रक्षात्मक रणनीति अपनायो। जुन उसका लागि सही निर्णय भएन।

खेलमा पछि परेको ललितपुर सिटीको लगातार आक्रमण र उत्कृष्ट मिडफिल्डसामु धनगढी निरीह बन्यो। ललितपुरका इमोन इजेकिलले दुई तथा दिनेश हेन्जनले एक गोल गरे। धनगढीले अफिज ओलावालेको गोलबाट अग्रता लिएको थियो। तर, पहिलो हाफको अन्तिम समयमा गोल बेहोर्‍यो।  

उत्कृष्ट गोलकिपर जेफ्री विली मार्सेल

ललितपुर सिटीले काउन्टर अट्याकमार्फत ६० मिनेट पनि नबित्दै दुई गोल थप्दै एक पक्षीय रूपमा हाबी भयो। इन्जुरी समयमा अहमद हिजाजीले गोल फर्काए पनि ललितपुरका लागि क्षति भएन। त्यसअघि खेलको १३औं मिनेटमा डिफेन्डर कमल श्रेष्ठको कर्नरमा धनगढीले अवसर बनाए पनि सदुपयोग गर्न सकेन।

गोल्डेन बुट विजेता इमोन इजेकिल

तीन मिनेटपछि धनगढीको अवसरमा ललितपुरका डिफेन्डर सनिस श्रेष्ठ बाधक बने। अफिजको पासमा हिजाजीले बललाई पोस्टको नजिक दिनै लाग्दा सनिसले उनलाई ट्याकल गरे। त्यसपछि धनगढीले सेटपिसमा अर्को अवसर सृजना बनायो। कमलको कर्नर बलमा धनगढीले मौका खेर फाल्यो।

कमलको कर्नर मिलन राईको अगाडि ड्रप हुँदै अफिजसम्म पुग्यो, तर उनले बललाई टच दिन सकेनन्। पहिलो हाफ सकिन १० मिनेट बाँकी छँदा ललितपुरले पहिलो अवसर सृजना गर्‍यो। दिनेश हेन्जनले करिब २२ यार्डबाट गरेको फ्रिकिक पहिलो बारनजिकैबाट बाहिरियो।

फरवार्ड पापा इबो केबेलाई धनगढीका डिफेन्डर रिचअर्ड अग्यमेङले फाउल गरेपछि ललितपुरले त्यो अवसर पाएको थियो। ३८औं मिनेटमा भने अफिजले गोल गर्दै धनगढीलाई अग्रता दिलाए। लेफ्ट साइडबाट अहमद हिजाजीको सट ललितपुरका गोलकिपर जेफेरी विली मार्सेलले बचाए।

उदीयमान खेलाडी रोहण कार्की । तस्बिर सौजन्य : विशाल पन्थ

तर, नियन्त्रण गर्न नसक्दा अनमार्क अफिजले वान टचमा गोल गरे। यद्यपि, पहिलो हाफमा थप समयको अन्तिम सेकेन्डमा २५ यार्डबाट इजेकिलले फ्रिकिकमा गोल गर्दै ललितपुर सिटीलाई खेलमा फर्काए। उनको सटमा धनगढीका डिफेन्डरसँगै गोलकिपर मोहम्मद ताहा सजग नहुँदा गोल भयो। त्यसपछि पहिलो हाफ १-१ को बराबरीमै रह्यो।

५०औं मिनेटमा ललितपुरले दोस्रो गोल गर्दै ठूलो झड्का दियो। ललितपुर काउन्टर अट्याकमा यो गोल गरेको हो। सेसेहाङ आङदेम्बेको थ्रु पासमा आदित्य शाक्यले उपलब्ध गराएको क्रसमा दिनेशले सहजै गोल गरेका हुन्।

५८औं मिनेटमा ललितपुर सिटीले अर्को गोल थप्दै ३-१ को अग्रता लियो। रिचार्ड अग्यमेङले क्लियर गरे पनि पापा केबेको पासमा इजेकिलले एक्रोबेटिक प्रहार गर्दै ललितपुर सिटीलाई बलियो स्थितिमा पुर्‍याए। त्यसपछि पूर्ण दबाबमा परेको धनगढी समालिन नै सकेन।

७९औं मिनेटमा धनगढी उल्टै दश खेलाडीमा सीमित हुन पुग्यो। रिचार्ड अग्यमेङले इजेकिलमाथि फाउल गरेपछि दोस्रो पहेँलो कार्ड बेहोर्दै उनी मैदानबाट बाहिरिए। इन्जुरी समयमा हिजाजीले गोल गर्दै धनगढीलाई खेलमा फर्काउने प्रयास गरे। तर समय अन्तिममा पुगिसकेको थियो र यसपटक पनि धनगढी उपविजेतामा नै खुम्चिन बाध्य भयो।  

उपाधिसँगै ललितपुरले ७० लाख रूपैयाँ पाउँदा धनगढीले भने २० लाख रूपैयाँमा नै चित्त बुझाउनुपर्‍यो। दुवै टोलीले प्लेअफमा पोखरा थन्डर्सलाई हराउँदै फाइनलसम्म यात्रा तय गरेका हुन्। पहिलो क्वालिफायरमा धनगढीले पेनाल्टी सुुटआउटमा ४-३ को जित निकाल्दा दोस्रो क्वालिफायरको अतिरिक्त समयमा ललितपुर सिटीले २-१ को जितसहित फाइनल खेलेको हो। 

दोस्रो सिजन नौ टोलीले एनएसएलमा प्रतिस्पर्धा गरेका थिए। झापा एफसी, स्पोर्टिङ इलाम डी मेची र वीरगन्ज युनाइटेड नयाँ टोलीका रूपमा थपिँदा पहिलो संस्करण खेलेको विराटनगर सिटीले भने सहभागिता जनाएन।  

यस सिजन इमर्जिङ प्लेयर धनगढीका रोहन कार्की, उत्कृष्ट गोलकिपर ललितपुरका जेफ्री विली मार्सेल हुँदा ललितपुरकै इमोन इजेकिलले गोल्डेन बुट पाए। ललितपुरका कप्तान अनन्त तामाङ गोल्डेन बलले सम्मानित भए। अनन्तले २ लाख तथा सर्वाधिक गोलकर्ता इमोन र उत्कृष्ट गोलकिपर जेफ्रीले जनही १ लाख रूपैयाँ पाए। उदीयमान रोहनले पनि एक लाख रूपैयाँ पाए।

प्रकाशित: १५ पुस २०८० ००:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App