८ असार २०८१ शनिबार
image/svg+xml
खेल

थप रोचक बन्दै प्लेअफ होड

काठमाडौं रेजर्सविरुद्ध गोल गरेपछि धनगढीका अहमद हिजाजी, साथमा आफिज ओलावाले। तस्बिर: नागरिक

गत संस्करणका फाइनलिस्ट धनगढी एफसी र काठमाडौं रेजर्सबीचको भिडन्तमा सोमबार बराबरीको नतिजा निस्किँदा जारी नेपाल सुपर लिग(एनएसएल) को शीर्ष चार (प्लेअफ) होड थप रोमाञ्चक बन्ने भएको छ।

दशरथ रंगशालामा सोमबार भएको यो खेललाई बहुप्रतीक्षित प्रतिस्पर्धाका रूपमा हेरिएको थियो। शीर्ष दुईमा (पहिलो क्वालिफायर) स्थान बनाउन डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स र धनगढी एफसी दुवै यो खेल जित्न चाहन्थे।

धनगढीको हारले शीर्ष दुई कमजोर बन्न सक्थ्यो। यता, डिफेन्डिङ च्याम्पियन काठमाडौंको हारले भने प्लेअफमा स्थान बनाउन संघर्षरत झापा एफसी र बुटवल लुम्बिनीका लागि फाइदा पुग्थ्यो। तर, धनगढीले अग्रता जोगाउन सकेन र गत संस्करणको फाइनलमा बेहोरेको हारको बदला लिन पनि असफल रह्यो। अंक बाँडिनु दुवै टोलीका लागि सहज भएन।

बराबरीसँगै धनगढी ६ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा यथावत् छ। तर, धनगढीले समान ६ खेलबाट ११ अंक जोड्दै दोस्रो स्थानमा रहेको पोखरा थन्डर्सविरुद्ध अंकदूरी बढाउने अवसर भने गुमाउन पुग्यो।

यता, काठमाडौं रेजर्स ६ खेलबाट ९ अंकसहित चौथो स्थानमा यथावत् छ। यो नतिजासँगै काठमाडौंले पनि प्लेअफ सम्भावनामा रहेका पाँचौं र छैटौं स्थानको टोलीसँग अंकदूरी बढाउने अवसर खेर फाल्यो। समान ६ खेलबाट पाँचौं स्थानको झापा एफसी र बुटवल लुम्बिनीको समान सात अंक नै छ। बाँकी दुई खेलमा काठमाडौंको हार या बराबरीको नतिजा आउँदा र यी दुई टोलीको जित हुँदा प्लेअफ समीकरण अर्कै बन्न सक्छ।

काठमाडौं रेजर्सले अब जारी सिजनकै दोस्रो अपराजित टोली ललितपुर सिटीसँग खेल्न बाँकी छ। त्यसअघि काठमाडौं रेजर्सले आगामी बिहीबार वीरगन्ज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। यद्यपि, यो नतिजाबाट काठमाडौं रेजर्सका बालगोपाल महर्जन सन्तुष्ट नै देखिए।

‘पाँच खेलपछि आज हामीले डिफेन्डिङ च्याम्पियनको खेल खेल्यौं। यो प्रदर्शनबाट खुसी छु। सुरुमै गोल खाए पनि शीर्ष टोलीविरुद्ध पुनरागमन गरेर यो प्रदर्शन हुनु सुखद पक्ष हो,’ प्रशिक्षक महर्जनले भने, ‘आजको खेल हेर्दा हामी प्लेअफ पुग्छौं भन्नेमा विश्वस्त छु।’

यता, धनगढीका प्रशिक्षक युगलकिशोर राई भने खेलपछिको पत्रकार सम्मेलनमा आक्रामक देखिए।

खेलका रेफ्री प्रज्वल क्षत्री पहिलो हाफ सकिएपछि मसल क्याम्पका कारण दोस्रो हाफमा मैदान फर्किएनन्। त्यसपछि आयोजकको रेफ्री कमिसनले प्रज्वलको स्थानमा नवीन्द्र महर्जनलाई दोस्रो हाफमा रेफ्रीको जिम्मेवारी दियो। तर, त्यो निर्णयविरुद्ध धनगढीका युगलकिशोर निकै आक्रोशित बनेका हुन्।

‘दोस्रो हाफमा जुन रेफ्री प्रवेश गराइएको थियो। उहाँको निर्णयप्रति हामीले पहिल्यै पनि जानकारी दिएका थियौं। प्लेइङ सिटमा नै नभएको रेफ्रीलाई जिम्मेवारी दिइयो। काठमाडौंको खेलमा जहिल्यै उनलाई नै जिम्मेवारी दिँदै आइरहेको छ। जुन एकदम गलत हो,’ धनगढीका प्रशिक्षक राईले भने, ‘नवीन्द्र महर्जन आएपछि गलत निर्णयहरू भएका छन्। सायद वार्म अप पनि नगरी खेलाउनु भएको होला।’

प्लेइङ सिटमा नै नभएको रेफ्रीलाई सब्स्टिच्युट गराइएको बारे प्रशिक्षक राई आक्रोशित भए। यद्यपि, प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले भने नियमअनुरूप नै महर्जनलाई जिम्मेवारी दिइएको बताए।

 ‘प्रज्वल क्षेत्रीलाई क्र्याम्प भयो। त्यसपछि दोस्रो रेफ्री जानुपर्ने हो। तर, उहाँले पनि खेलाउन सक्ने अवस्था नभएपछि नवीन्द्रलाई जिम्मेवारी दिइएको हो,’ मिश्रले भने। त्यसअघि खेलको छैटौं मिनेटमा धनगढीको अग्रता लिने योजनामा काठमाडौंका गोलकिपर एन्जल श्रेष्ठ बाधक बने। आशिष चौधरीको उत्कृष्ट क्रस नियन्त्रणमा लिँदै ओलावाले अफिजको सट एन्जलले रोके पनि दोस्रो बारमा ठोकिएर बाहिरिएपछि धनगढी अग्रता लिन चुक्यो।

धनगढीले दोस्रो प्रयासमा भने गोल गर्‍यो। धनगढीले १५औं मिनेटमा लेबनानका अहमद हिजाजीको गोलबाट अग्रता लियो। काठमाडौं रेजर्सका डिफेन्डर आन्द्रेस नियाको गल्तीको फाइदा उठाउँदै अहमद हिजाजीले धनगढीलाई अग्रता दिलाएका हुन्।

फलोउ डियाग्नेको लामो क्रस रोक्ने क्रममा आन्द्रेसको हेडर बल नियन्त्रणमा लिएका हिजाजीले काठमाडौंका गोलकिपर एन्जल श्रेष्ठ अगाडि बढेको अवस्थामा फ्लिक गर्दै गोल गरे। त्यसको एक मिनेटपछि नै काठमाडौं रेजर्स बराबरी गोल गर्न असफल भयो।

 काठमाठौंका सोखरुखको क्रस बल धनगढीका डिफेन्डर देवेन्द्र तामाङले क्लियर गर्न खोजे पनि माथिल्लो बारमा लागेर फर्कियो। सोही बल नियन्त्रणमा लिँदै अनमार्क रहेका काठमाडौं रेजर्सका प्रशान्त अवस्ती करिब १० यार्डबाट गोल गर्न चुके।

२०औं मिनेटमा काठमाडौं रेजर्सका मार्की हिसुब थपलिया गोल गर्न सफल भएनन्। पेनाल्टी बक्सबाट एक डिफेन्डरलाई छक्याउँदै उनले गरेको सट धनगढीका गोलकिपर टिकेन्द्र थापाले फुत्काए पनि लगत्तै आफ्नो गल्ती सुधारे। त्यसपछि पहिलो हाफको थप समयमा हिजाजीले गरेको सट काठमाडौं रेजर्सका गोलकिपर एन्जलले रोके।

पेनाल्टी क्षेत्रबाटै अफिजले दिएको पासमा हिजाजीको पहिलो बार च्याप्दै गरेको सट सफल हुन सकेन। त्यससँगै पहिलो हाफमा धनगढीले १–० ले अग्रता लियो। खेलको ५४औं मिनेटमा काठमाडौं रेजर्सका सोखरुखको उत्कृष्ट सट धनगढीका गोलकिपर टिकेन्द्रले पन्च गर्दै जोगाए।

तोजिडिनोभ कोमिवनको पास नियन्त्रणमा लिँदै सोखरुखले धनगढीका दुई डिफेन्डरका बीचबाट गरेको सट टिकेन्द्रले जोगाएका हुन्। काठमाडौं रेजर्स ६६औं मिनेटमा केङ्ग्यु ओलिभरको हेडर गोलबाट १–१ को बराबरीमा फर्कियो। तोजिडोनोभको फ्रिकिकमा पेनाल्टी क्षेत्रबाट ओलिभरको हेडर धनगढीको कुनै पनि खेलाडीले नै पत्तै पाएनन्।

धनगढीका हिजाजीले ८०औं मिनेटमा टोलीलाई अग्रता दिलाउने अवसर सदुपयोग गर्न सकेनन्। रामचन्द्र वाजीले दिएको थ्रु बलमा अफसाइड बिट गर्दै हिजाजीको प्रहार सही दिशा लिन सकेन। त्यसपछि बाँकी समय थप अवसर सिर्जना भए पनि गोल हुन सकेन र खेल १–१ को बराबरीमा नै सकियो। यससँगै एनएसएलमा काठमाडौं र धनगढीबीच कुल तीन भिडन्तमा दुवैले समान एक जित निकाल्दा एउटा नतिजा भने बराबरीमा नै टुङ्गियो। 

प्रकाशित: ३ पुस २०८० ००:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App