१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

इन्जुरी समयमा फेरि चिप्लियो चितवन

नेपाल सुपर लिग

गोल गरेपछि चितवनका उत्सव राई (बीच) लाई बधाई दिँदै सहकर्मी रोशन रानामगर (बायाँ)। तस्बिर : एनएसएल

एकपटक फेरि एफसी चितवनले इन्जुरी समयमा समालिन नसक्दा नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा बिहीबार तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ।

जितविहीन हुँदै पुछारमा रहेर पहिलो संस्करण अन्त्य गरेको चितवनले यस पटक पनि खराब सुरुआतका बावजुद सुधारिएको प्रदर्शन गरेको थियो। पहिलो खेलमा पोखरा थन्डर्ससँग १–० ले स्तब्ध भएको चितवन त्यसपछिका तीन खेलमा भने अपराजित छ।

तर बिहीबार बुटवल लुम्बिनी एफसीविरुद्ध जितको संघारमा पुगेको चितवन समालिन सकेन र इन्जुरी समयमा गोल बेहोर्दै १–१ नतिजा सामना गर्न बाध्य भयो। यससँगै चितवनले दोस्रो जितका साथ काठमाडौं रेजर्सलाई पछि पार्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लिने अवसर खेर फाल्यो।

चितवनले काठमाडौंसँग पनि अन्तिम समयमा गोल बेहोर्दा अंक

बाँड्नुपरेको थियो। बिहीबार चौथो खेलमा पनि चितवनले सोही गल्ती दोहोर्‍याउने पुग्यो र बुटवलविरुद्ध सुरुआती अग्रताका बावजुद बराबरीको नतिजा सामना गर्न बाध्य भयो। चितवनका प्रशिक्षक मेहराजुद्दिन वाड्डुले समग्रमा आफ्ना खेलाडीले राम्रो खेले पनि अन्तिम समयमा गरेको गल्तीका कारण जितबाट वञ्चित भएको बताए। ‘खेलाडीले राम्रो खेले र अवसर सिर्जना गरे। तर, अन्तिम समयमा फोकस गर्न सकेनन्। दोस्रो पटक यस्तो भएको हो,’ उनले भने, ‘त्यो गल्तीका कारण जितबाट वञ्चित हुनुपर्‍यो।’

अब सिजनका बाँकी चार खेलमा राम्रो गर्ने उनको विश्वास छ। चार खेलबाट चिवतन एक जित, दुई बराबरी र एक हारका साथ पाँच अंकसहित पाँचौं स्थानमा यथावत् छ। चौथो स्थानमा रहेको काठमाडौंको तीन खेलबाट पाँच अंक नै छ। यता, दुई हारबाट यस सिजन सुरुआत गरेको बुटवल भने चार खेलबाट एक जित, एक बराबरीसहित चार अंकका साथ छैटौं स्थानमा छ।

इन्जुरी समयमा स्टेफन बिनोङले उत्कृष्ट गोल गर्दै बुटवलको हार टारेका हुन्। चितवनले भने उत्सव राईको गोलबाट अग्रता लियो। त्यसअघि खेलको १९औं मिनेटमा पहिलो आक्रमण बुन्यो। जहाँ चितवनका अफ्रिई एक्वाले करिब ३२ यार्ड टाढाबाट हानेको फ्रिकिक बुटवलका मोहमोडुले रोके।

लगत्तै बुटवलको काउन्टर प्रयासमा स्टेफन बिनोङको प्रहार गोलमा परिणत हुन सकेन। ४०औं मिनेटमा रफिक अमिनुले चितवनलाई अग्रता दिलाउने अवसर गुमाए। उत्सवले दिएको उत्कृष्ट पासमा पेनाल्टी क्षेत्रमा रहेका उनको प्रहार बारमाथि बाहिरिन पुग्यो।

त्यसको दुई मिनेटपछि नै चितवनका विमल घर्तीमगरले बुटवलका गोलकिपर मोहमोडुसँग वान भर्सेस वानमा गोल गर्न सकेनन्। अफ्रिईको ‘थ्रु बल’ अफसाइड बिट गर्दै नियन्त्रणमा लिएका विमल पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्न असफल रहे।

त्यससँगै चितवनको दबाबमा रहेको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। ४९औं मिनेटमा बुटवलका मोहमोडुको गल्तीको फाइदा उठाउँदै चितवनले अग्रता लियो। उनले गरेको गोलकिक नियन्त्रणमा लिँदै उत्सव राईले करिब २५ यार्ड टाढाबाट गोल गरे।

उत्सवको प्रहार सशक्त नभए पनि मोहमोडुले सहज गोल खान पुगे। ५३औं मिनेटमा बिनोङले लेफ्ट कर्नर साइडबाट गरेको प्रहार चितवनका गोलकिपर विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए। बुटवलले ६३औं मिनेटमा गरेको प्रहार सदुपयोग हुन सकेन।

एरिक विष्टको कर्नर पासमा बिनोङ नजिकैबाट गोल चुके। ७८औं मिनेटमा चितवनका टोरिक जेब्रिनको फितलो प्रहार बुटवलका गोलकिपर मोहमोडुले सहजै रोके। लगत्तै एरिकको प्रहार माथिल्लो बार हुँदै बाहिरियो। जिलेस्पीजंग कार्कीको पास सदुपयोग गर्दै करिब १७ यार्ड टाढाबाट उनले गरेको प्रहारले दिशा लिन सकेन।

८३औं मिनेटमा चितवनका गोलकिपर विशाल बिट भैसकेको अवस्थामा बिनोङको प्रहारले जाली चुम्न सकेन। बुटवलका लागि ८९औं मिनेटमा सेर्जी सोङले करिब २२ यार्ड टाढाबाट गरेको प्रहार दोस्रो बार हुँदै बाहिरिन पुग्यो।

तर इन्जुरी समयमा चितवनका गोलकिपर विशाल र डिफेन्सबीच तालमेल नमिल्दा बुटवलले गोल फर्कायो। बिनोङले गोलकिपर विशाल अगाडि बढेको अवस्थामा दुई डिफेन्डरको बीचबाट खाली पोस्टमा गोल गरे। बुटवलले थप आक्रमण गरे पनि गोल हुन सकेन र १–१ को बराबरीमै सकियो।

बराबरीपछि बुटवलका प्रशिक्षक विजय महर्जनले गोलकिपरको गल्तीका कारण गोल बेहोर्नुपरे पनि अन्तिम अंक प्राप्त हुँदा सन्तुष्ट रहेका बताए। ‘बाँकी खेलमा ध्यान दिन्छौं,’ उनले भने।

प्रकाशित: २२ मंसिर २०८० ००:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App