२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

केपी ओली टी–२०ः बागमती प्रदेशलाई हराउँदै आर्मी फाइनलमा

प्लेयर अफ दि म्याच आर्मीका सहाब आलम। तस्बिरः नागरिक

त्रिभुवन आर्मी क्लब बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

भीम सार्कीले इनिङ सम्हाल्दै जितको हकदार बनाए। उनले ३५ बलमा पाँच चौकासहित ३९ रन बनाए। जितको लागि दुई रन आवश्यक हुँदा सार्की रित गौतमको पहिलो ओभरको तेस्रो बलमा सागर ढकालको हातबाट क्याच भए। 

सोमपाल कामीले रित गौतमको ओभरको अन्तिम बलमा एक रन लिदैं जित सुनिश्चित गरे। कामीले १४ बल खेल्दै १ छक्कासहित १५ रनमा अविजित रहे।

छैटौं नम्बरमा आएका कुशल मल्लले विस्फोटक ब्याटिङ देख्ने अवसर दर्शकले पाए। उनले ८ बलमा २७ रनको स्कोर बनाए। चार छक्का हिर्काए। आर्मीले जितको लागि पाएको १२८ रनको लक्ष्य १५ ओभरमा पुरा गर्‍यो। मल्ल नवौं ओभरमा सन्दीप लामिछानेको बलमा शुभ कन्साकारको हातबाट क्याच भए।

आर्मीका ओपनर सन्तोष कार्की सस्तैमा आउट भएपछि अर्का ओपनर विनोद भण्डारीले भने १२ बलमा ३ चौका र दुई छक्कासहित २५ रन बनाए। बलरलाई दबाब बनाउने क्रममा भण्डारीको ब्याटबाट रन बनिरहँदा लामिछानेले रोशन विकको हातबाट क्याच गराई पभेलियनको बाटो देखाए। लामिछानेले २ विकेट लिए।

प्रतिक श्रेष्ठको अर्धशतकको योगदानमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई जितको लागि १२८ रनको लक्ष्य दिएको थियो। पोखरा रंगशाला क्रिकेट मैदानमा बिहीबार टस जितेर ब्याटिङ गरेको बागमतीले  श्रेष्ठले छैटौं नम्बरमा आउँदै अविजित ५० रन बनाउँदै सम्मानजनक स्कोर खडा गरे। ४४/६ को दयनीय अवस्थामा पुगेको बागमतीको इनिङ सम्हाल्दै श्रेष्ठले ३५ बलमा ३ चौका र ४ छक्का सहित ५० रन बनाए। उनले सातौं विकेटको लागि सन्दीप लामिछानेसँग ५२ रनको साझेदारी गरेका थिए।

केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा बागमतीको सुरुवात राम्रो हुन सकेन। शुभ कन्साकारलाई केवल ३ रनमा गुमाएको बागमतीले दोस्रो विकेट इशान पाण्डेलाई गुमायो। दुवै व्याटर क्रमशः सोमपाल कामी र सहाब आलमको बलमा आउट हुन पुगे। रित गौतमको ब्याट पनि सेमिफाइनलमा चलेन। उनले केवल १४ रन बनाए। १ चौका र १ छक्का हिर्काए।

सन्दीप लामिछाने १९ रनमा खेलिरहँदा सोमपाल कामीको हातबाट क्याच हुदैं पभेलियन फर्किए। उनले २२ बल खेल्दै २ चौका र १ छक्का हिर्काए। सोनु देवकोटा ९ रनमा अविजित रहे। आर्मीका बलर सहाब आलमले ४ ओभरमा एक मेडन राख्दै १४ रन खर्चिएर ४ विकेट लिए। सोमपाल कामीको हातमा दुई विकेट रह्यो। आर्मीका आलम प्लेयर अफ दि म्याच घोषित भए।

प्रकाशित: १४ मंसिर २०८० ०८:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App