अर्जुन ऐरीको उत्कृष्ट बलिङ प्रेरित सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेशलाई ८४ रनले पराजित गर्दै केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनलको सम्भावना जीवितै राखेको छ।
सेमिफाइनलको लागि गण्डकी र लुम्बिनी प्रदेश बिचको खेलसम्म कुर्नुपर्ने छ। यद्यपि अघिल्लो गण्डकीले सशस्त्र प्रहरी बललाई दुई बल बाँकी छदा ४ विकेटले पराजित गरेको थियो।
सेमिफाइनल प्रवेश जीवितै राख्न जित्नै पर्ने दबाबमा रहेको सशस्त्रले टस जित्दै सात विकेटको क्षतिमा १५१ रन बनायो। नेपाली राष्ट्रिय टोलीका भरपर्दा व्याटर आशिफ शेखलाई १३ रनमै गुमाएको सशस्त्रले प्रदीप ऐरीको ओपनिङ ३० रन र आठौँमा आएका लोकेश बमले १३ बलमा ३२ रनको अविजित इनिङ खेल्दै १५१ रनको स्कोर तयार भएको थियो।
लोकेशले १३ बलमा ३ चौका र ३ छक्का हिर्काए। उनीभन्दा अघि ओपनर ऐरीले २५ बल खेल्दै ३ चौका र १ छक्का हिर्काए। पुरन विक २३ रन खेल्ने क्रममा कृष्ण कार्कीले रन आउट बनाए। सुमित महर्जनले १८ रनको योगदान दिँदा अर्जुन ऐरीले १७ बलमा २५ रन बनाई रन आउट भए। उनले दुई चौका र एक छक्का हिर्काए। रमेश कुर्मी र अभिषेक गौतमले समान २ विकेट लिए।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रङ्गशाला क्रिकेट मैदानमा शनिबार भएको प्रतिस्पर्धामा १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश केवल ९ विकेट गुमाउँदै ६७ रनमा समेटियो।
अर्जुन ऐरीले दशौँ ओभरमा दुई र बाह्रौँ ओभरमा ३ विकेट लिएपछि लुम्बिनी सस्तैमा समेटिएको थियो। ऐरीले चार ओभरको बलिङमा केवल ७ रन मात्रै खर्चिए। प्लयेर अफ दि म्याचको हकदार बने। लुम्बिनीका लागि सर्वाधिक रन मृनाल गुरुङले बनाए। उनले २२ बल खेल्दै एक चौकाको सहयोगमा १४ रन बनाए। रोशन गुप्ताले १३ र धुर्व सुनारले ११ रनको योगदान गरे। बाँकी व्याटरको दोहोरो अंकको रन स्कोर बोर्डमा लेखिएन। अर्जुन ऐरीले ५ र भुवन कार्कीले २ विकेट लिए। भुवन र अमर राउटेलाले प्रतियोगितामा समान एक मेडन राखेका थिए।
दिपेन्द्र रावतको उत्कृष्ट इनिङमा कर्णाली प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोलाई ४ विकेटले पराजित गरेको छ। शनिबार पोखरा रङ्गशाला क्रिकेट मैदानमा भएको केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा आयोजक एकेडेमी रातोले दिएको ११० रनको लक्ष्यलाई कर्णाली प्रदेशले १८.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो। दुवै टोलीलाई पराजित गरेको बागमती प्रदेश भने सेमिफाइनल प्रवेश गरिसकेको छ।
छैटौँ नम्बरमा आएका रोशन गौतमले २० बलमा ३० रन हिर्काउँदै आयोजक रातोलाई सम्मानजनक स्कोर तर्फ अग्रसरता दिलाए। उनले १ चौका र ३ छक्का हिर्काए। टस जितेर व्याटिङ गर्न क्रिजमा आएको आयोजकले पहिलो विकेट अमर मिश्रलाई एक रनमै गुमायो। अर्का ओपनर निर्मल थापालाई तेस्रो नम्बरमा आएका अंकित बमले साथ दिए। थापाले १७ रन बनाउन ३७ बल खर्चिए। बमले १८ रन जोड्न २८ बलको सामना गरे। उनले तीन चौका हिर्काए। निश्चल ग्यावतीले १९ रन जोडे।
रोशन गौतमले अविजित ३० रन बनाउँदै टोलीको स्कोर सम्मानजनक स्थितिमा पुर्याए। सेहजाद आमलले पनि १२ बलमा १६ रन जोड्दै रन आउट हुन पुगे। कर्णालीका प्रकाश जैसीले २ विकेट लिए।
११० रनको लक्ष्यलाई पुरा गर्ने क्रममा दिपेन्द्र रावतले अविजित ४३ रनको महत्त्वपूर्ण योगदान दिए। उनले ३१ बल खेल्दै २ चौका र ३ छक्का हिर्काउँदै जित दिलाए। केवल १८.१ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको कर्णालीको गतिलो सुरुवात भने हुन सकेन।
९ रनमा ओपनर मनिष थापा र ३ रनमा उत्कर्ष विकलाई गुमाएको कर्णालीले निश्चल रावल र अर्जुन घर्तीले सम्हाल्ने जिम्मेवारी लिए। तर उनीहरुको पनि साझेदारी बन्न सकेन। घर्ती ७ रनमै पभेलियन फर्किए। कप्तान रविन्द्र शाही पनि पहिलो बलको सामना गर्ने क्रममा बलर विप्रासन केसीको बलमा शून्यमै आउट भए। रावले १५ रनमा विप्रसनकै बलमा आउट भएपनि इनिङलाई दिपेन्द्र रावतले सम्हाल्दै जितको खुसीयाली दिलाए। उनलाई केही समय साथ दिएका प्रकाश जैसी पनि १९ रनमा आउट हुन पुगे। आयोजक एकेडेमी रातोका सन्तोष यादव र विप्रासन केसीले समान २ विकेट लिए।
प्रकाशित: ९ मंसिर २०८० १४:४९ शनिबार