१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पोखरा म्याराथनलाई कृषि बैंकको साथ

नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराले आयोजना गर्ने पोखरा अन्तराष्ट्रिय म्याराथनसँगै कृषि विकास बैंक जोडिएको छ। केही वर्ष वाणिज्य बैंकले म्याराथनलाई मुख्य प्रायोजन गर्दै आएको थियो। वाणिज्य बैंकले प्र्रायोजन गर्न छोडेपछि सुस्ताएको म्याराथनलाई जीवन्त बनाउने काम भने पोखराकै प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान सुजल डेरीको उत्पादन सफल दूधले गरेको हो। अहिले म्याराथनलाई विगत सात वर्षदेखि मुख्य प्रायोजन गर्दै आएको छ। सफल दूधसँगै कृषि विकास बैंक म्याराथनको सह प्रायोजकको भूमिकामा प्रवेश गरेको हो।

आगामी फागुन ५ गते शनिबार १८औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन आयोजना हुँदैछ। अन्तर्राष्ट्रिय म्याराथनको बैकिङ पार्टनरको भूमिकामा समेत कृषि विकास बैंक रहने मञ्चले जनाएको छ। बैंकले सह–प्रायोजकका रूपमा नगद रु ५ लाख सहयोग गर्ने मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए। उनका अनुसार कृषि विकास बैंकले विगत चार वर्षदेखि निरन्तर पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहयोग गर्दै आए पनि यो वर्षदेखि सहप्रायोजकको भूमिकामा रहेको छ।  

बिबिल राइज फाउन्डेसनका संस्थापकसमेत रहेका तुलसीकुमार गुरुङले ५ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन्। सुजल डेरीको मुख्य प्रायोजनामा हुने पोखरा म्याराथनलाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, राष्ट्रिय खेलकुद परिषद्, पोखरा महानगरपालिकाले सहयोग गर्दै आइरहेका छन्। प्रवद्र्धकको रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ। पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनरको रूपमा पोखरेली मञ्च युके रहेको छ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु भएसँगै अन्तर्राष्ट्रिय धावकहरूले आफ्नो नाम अनलाइनमार्फत दर्ता गर्ने प्रकियासमेत सुरु भएको जानकारी दिँदै अध्यक्ष पराजुलीले १८औं संस्करणको पोखरा म्याराथनलाई नेपाल रन युकेको सहयोगमा पूर्ण रूपमा प्रविधि मैत्री बनाउनेतर्फ अघि बढेको जानकारी दिए। १८औं संस्करणमा ५० भन्दा बढी देशका धावक पोखरा आउने विश्वास अध्यक्ष पराजुलीको छ। पोखरा म्याराथनको रुट अन्तर्राष्ट्रिय मान्यता प्राप्त रुट हो।  

प्रकाशित: ११ कार्तिक २०८० ०१:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App