३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

कास्की र गण्डकी प्रदेश गल्फ संघ गठन

तदर्थ समिति बनेको दशकपछि कास्की जिल्ला गल्फ संघ गठन गरिएको छ। तदर्थ समिति मार्फत नै गल्फका गतिविधि हुदैं आएपनि आधिकारिक रुपमा कास्की जिल्ला गल्फ संघ भने बल्ल गठन भएको छ। प्रथम अधिवेशन एवं वार्षिक साधारण सभाले जीवाराम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।  

संघको उपाध्यक्षमा भक्तराज गुरुङ,र बालाकाशी गुरुङ छन्। त्यस्तै सचिवमा प्रज्वल गुरुङ तथा कोषाध्यक्षमा लालबहादुर गुरुङ चयन भएका छन्। सदस्यहरुमा दिपक पहारी, विजय मोक्तान, लिलाजंग गुरुङ र टिका गुरुङ रहेका छन्।  

त्यसैगरी प्रदेश गल्फ संघ गण्डकीको समेत नयाँ कार्यसमिति चयन गरिएको छ।पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा भएको अधिवेशनले पूर्व प्रदेश सदस्य समेत रहेका इन्द्रधारा विष्टको नेतृत्वमा प्रदेश गल्फ संघ गण्डकीको कार्यसमित चयन गरिएको छ। गल्फर विष्ट दुई वर्ष अघि मात्रै गल्फमा जोडिएका हुन्।  

मुस्ताङको लोवाथाङस्थित ४६४५ मिटरको उचाईमा विष्टकै अगुवाईमा गल्फ कोर्ष बनाइएको छ। ९ होलको कोर्षमा भदौ अन्तिम साता मात्रै दोस्रो संस्करणको उच्च उचाईको गल्फ प्रतियोगिता आयोजना गरिएको थियो। संघको उपाध्यक्ष रमेश गुरुङ र सुनिता राणा, सचिवमा ईन्जिनियर सन्तोष गुरुङ तथा कोषाध्यक्षमा राजु थकाली चयन भएका छन। सदस्यहरुमा बुद्धिमान गुरुङ(धम्पु), बलराम थापा, जुनी गुरुङ र जुनकाजी गुरुङ रहेका छन्।  

नवनिर्वाचित कास्की जिल्ला गल्फ संघका अध्यक्ष गुरुङले कास्कीको गल्फको विकास र विस्तारको लागि नयाँ कार्ययोजना बनाई अगाडि बढ्ने स्पष्ट पारे। उनले संघको पहिलो दायित्व नै एकेमेडी सञ्चालन गर्ने रहेको बताए। एकेडेमीकै लागि कास्की जिल्ला गल्फ संघले पोखरा रंगशालाभित्र छुट्टाईएको जग्गामा आवश्यक कोर्षसहितको रेन्ज तयार गर्ने काम अघि बढाएको छ। चारैतिर अग्लो पोल गाडेर जाली लगाउने योजना रहेको समेत संघले जनाएको छ।  

अधिवेशनमा प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठक तथा कास्की जिल्ला खेलकुद विकास समितिका सदस्य केशवबहादुर थापाको उपस्थिति रहेको थियो। विशेष उपस्थितिको रुपमा नेपाल गल्फ संघका केन्द्रीय सदस्य भूबहादुर गुरुङ रहेका छन्। गण्डकी प्रदेशमा कास्की र मुस्ताङमा मात्रै गल्फ कोर्ष छन्। हिमालयन गल्फ कोर्ष १८ होलको छ। जहाँ वर्षेनी सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता हुदैं आएको छ। पोखराकै फुलबारी रिर्सोट एण्ड स्पामा पर्यटकलाई मात्रै लक्षित गरी बनाइएको ९ होलको कोर्ष अहिले प्रयोगविहीन अवस्थामा छ।  

प्रकाशित: २८ आश्विन २०८० ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App