१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

१९औं एसियाली खेलकुद: तेक्वान्दोमा पनि खराब प्रदर्शन

कम्बोडियालाई हराउँदै सुखद सुरुआत गरेकी नेपालकी तेक्वान्दो खेलाडी अञ्जली तामाङको चुनौती पनि जारी १९औं एसियाली खेलकुदमा अन्तिम १६ को चरणमा नै सीमित बनेको छ ।

नेपालबाट पदकको आशा गरिएको तेक्वान्दोले एकपछि अर्को खराब प्रदर्शन गरिरहेको छ । चीनको हानझाउ सहरमा जारी खेलकुदमा तेक्वान्दोबाट पहिलो खेल जित्ने अञ्जली मंगलबार दोस्रो खेलाडी बनेकी थिइन् । तर, उनको चुनौतीले पनि दोस्रो चरण पार गर्न सकेन । लिनयान स्पोर्ट्स सेन्टरमा मंगलबार नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तीमध्ये अञ्जलीले महिला ४९ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । उनले पहिलो खेलमा कम्बोडियाकी क्री लादेनलाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेकी थिइन् ।

अञ्जलीले पहिलो राउन्डको खेलमा ८/८ स्कोर ल्याइन् । यद्यपि, हेड किक बढी प्रहार गरेका आधारमा अञ्जलीले त्यो सेट आफ्नो पक्षमा पारिन् । दोस्रो राउन्डको खेल भने अञ्जलीले १०–४ ले सहजै आफ्नो बनाउँदै कम्बोडियाकी प्रतिद्वन्द्वीलाई हराइन् । तर, दोस्रो चरणको खेलमा भने उनको प्रदर्शन निराशाजनक रह्यो । अञ्जलीले थाइल्यान्डकी वोङपतानाकित पनिपाकसँग कुनै अंकबिना नै दुवै राउन्ड गुमाइन् । पहिलो राउन्डमा १२–० ले पछि परेकी अञ्जली दोस्रो राउन्डमा पनि अंक बटुल्न असफल भइन् । दोस्रो राउन्डमा उनले १०–० को हार बेहोरिन् ।  

जारी एसियाडमा तेक्वान्दोतर्फ नेपालका ६ पुरुष र पाँच महिला खेलाडीको प्रतिस्पर्धा तय थियो । तीमध्ये सोमबार एकल पुम्सेमा स्वस्तिका तामाङ र प्रेमबहादुर खेलाडीको चुनौती समाप्त भएको थियो । मंगलबार ग्यरोगी (फाइट) मा अञ्जलीसँगै राहुल कुमाल पराजित भए । पुरुष ५८ केजीमुनि राहुल साउदी अरबका हाम्दी रियादसँग पराजित भए । उनी पहिलो राउन्डमा १२–४ र दोस्रो चरणमा ५–१ ले सहजै पराजित भए । एसियाडमा सबैभन्दा सफल नेपाली खेल तेक्वान्दो हो ।  

नेपाली तेक्वान्दोले एसियाडमा हालसम्म एक रजतसहित कुल १४ कांस्य पदक ल्याएको छ । तर, हानझाउ एसियाडमा सोमबारसम्म नेपालका चार तेक्वान्दो खेलाडीको चुनौती समाप्त हुँदा कुनै पनि खेलाडीले क्वार्टरफाइनल चरण पार गर्न सकेका छैनन् । एसियाडका लागि नेपालका तीन खेल कराते, तेक्वान्दो र बक्सिङले विशेष प्रशिक्षण गरेका थिए । तर, नेपाली तेक्वान्दोसहित बक्ङिले सुखद नतिजा ल्याउन सकेको छैनन् । करातेको प्रतिस्पर्धा भने हुन बाँकी छ । करातेको प्रतिस्पर्धा आगामी बिहीबारबाट सुरु हुँदै छ । तेक्वान्दो र बक्सिङकै प्रतिस्पर्धा बाँकी रहेकाले अझै पदकको आशा गर्ने सम्भावना छ ।  

बक्सिङ: रविनको पहिलो जित

बक्सिङमा नेपालका सात खेलाडीले प्रदर्शन गरिसकेका छन् । १३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता मीनु गुरुङ र दीपक श्रेष्ठसहित सात खेलाडीले खेलिसकेका छन् ।

यद्यपि, रविन थापाबाहेक कुनै पनि खेलाडीले पहिलो खेल नै जित्न सकेनन् । सोमबार हानझाउ जिन्म्याजिम हलमा भएको पुरुष ५१ केजीमुनि रविनले इन्डोनेसियाका कोइबानु डिओसँग ४–१ ले जित्दै दोस्रो चरणमा पराजित गरे । रविनले दोस्रो खेलमा उत्तर कोरियाका चोनयोङ सोसँग प्रतिस्पर्धा गर्नेछन् । सोमबारै नेपालका विनीता थापामगर, दीपेश लामा पनि पराजित भए । विनीता चाइनिज ताइपेईकी खेलाडी चेन चिन र दीपेश भारतका निशान्त देवसँग पराजित हुन पुगे । हालसम्म बक्सिङमा एक, तेक्वान्दोमा दुई र जुडोमा एक गरी चार खेलाडीले पहिलो खेल जितेका छन् ।  

 १९औं एसियाली खेलकुदअन्तर्गत बक्सिङमा इन्डोनेसियाका कोइबानु डिओलाई मुक्का प्रहार गर्दै नेपालका रविन थापा (दायाँ) ।

जुडो: ६ खेलाडी हारे  

नेपालले जुडोमा खराब प्रदर्शन गर्दा ६ खेलाडीको चुनौती समाप्त भएको छ । एसियाडमा नेपालको तर्पmबाट जुडोमा आठ खेलाडीको प्रतिस्पर्धा तय थियो ।

यद्यपि, १३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण विजेतासहित खेलाडीले सुखद प्रदर्शन गर्न सकेनन् । आइतबार नेपालका इन्द्रबहादुर श्रेष्ठ, देवकीमाया श्रेष्ठ र विकास विकेले हार बेहोरेका थिए । विकासले पहिलो खेल जित्दै दोस्रो चरणको यात्रा तय गर्दा दुई खेलाडी भने पहिलो खेलमा नै पराजित भए । सोमबार पनि तीन खेलाडीले प्रतिस्पर्धा गरेकामा सबै पराजित भए ।

नेपालका मनिता श्रेष्ठ प्रधान, जंगबहादुर सारु र १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए । महिला ५७ केजीमुनि मनिता तुर्कमिनिस्तानकी मायसा पार्दायेभा तथा ७५ केजीमुनि पुनम मंगोलियाकी इड्रेना नयम बात्सुरीसँग पराजित भए । पुरुष ८१ केजीमुनि फिलिपिन्सका भिरोन जोन फेरेरले जंगबहादुरलाई हराए ।  

बास्केटबल: जापानसँग पराजित

एसियाली खेलकुदको महिला यु–२३ थ्री बाई थ्री बास्केटबलमा नेपाल पराजित भएको छ । डेजिङ जियोग्राफिक इन्फोर्मेसन पार्कमा भएको समूह ‘बी’ को लिग खेलमा जापानले नेपाललाई २२–४ ले पराजित गर्यो । नेपालका लागि मीना गुरुङ र गरिसा सिलवालले समान २–२ स्कोर गरे । समूह ‘बी’ मा चाइनिज ताइपेई र काजाकिस्तान पनि छन् । नेपालले बुधबार काजाकिस्तानसँग तथा ताइपेईसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।  

एसियाली खेलकुदको महिला यु–२३ थ्री बाई थ्री बास्केटबलमा जापानविरुद्धको खेलमा बल छक्याउँदै नेपालकी श्रेया खड्का ।

साइक्लिङ: सुरज र उषाले दूरी पूरा गरेनन्  

एसियाली खेलकुदको साइक्लिङमा नेपालका सुरज राना मगर र उषा खनाल सोमबार निर्धारित दूरी तय गर्न असफल रहे । दुवैले माउन्टेन बाइक क्रसकन्ट्रीमा प्रतिस्पर्धा गरेका थिए । योसँगै साइक्लिङमा नेपालको चुनौती समाप्त भएको छ । टोली मंगलबार स्वदेश फर्किंदै छ । पुरुषको २५.५ किलोमिटर दूरी तय गर्ने क्रममा सुरज दोस्रो ल्यापमा घाइते भएको प्रशिक्षक देवेन्द्र बस्नेतले जनाएका छन् । ५ ल्यापको प्रतिस्पर्धामा सुरजसँगै फिलिपिन्सका २ तथा दक्षिण कोरिया र युएईका १–१ खेलाडीले पनि दूरी पार गर्न सकेनन् । चीनका खेलाडीले स्वर्ण र रजत जित्दा जापानका खेलाडीले कांस्यमा चित्त बुझाए । महिलाको २०.५६ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्दै गर्दा उषालाई ‘हाइपर थर्मिया’ भएको प्रशिक्षक बस्नेतले जानकारी गराए । झेसौ स्पोर्ट्स सेन्टरमा भएको ४ ल्यापको प्रतिस्पर्धामा जापानकी अकारी कोबायासीले पनि दूरी तय गर्न सकिनन् । यो स्पर्धामा पनि चीनका खेलाडीले स्वर्ण र रजत कब्जा गरे । इरानी खेलाडीले कांस्य हात पारे ।  

उसु : सुस्मिता आठौं स्थानमा  

एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको उसुको थाउलोअन्तर्गत महिला छाङछ्वानमा नेपालकी सुस्मिता तामाङ ११ खेलाडीमध्ये आठौं स्थानमा रहिन् । उनले ९.४१० अंक जोडिन् । थाउलोकै पुरुष ताजिक्वानमा नेपालका पासाङ शेर्पा १८ खेलाडीमा अन्तिममा रहे । उनले ९.०१३ अंक स्कोर गरे । अर्को स्पर्धामा ताइजिजियानमा प्रतिस्पर्धा गरेका पासाङ १८ खेलाडीमध्ये १७औं स्थानमा रहे । उनले ८.९७३ अंक ल्याए ।  

बास्केटबलमा प्रतिस्पर्धा गर्दै श्रेया खड्का (माथि बायाँ) र  उसुको प्रदर्शन गर्दै पासाङ शेर्पा ।

फेन्सिङ: कुनै सफलता मिलेन

हाङझाउ एसियाडको तेस्रो दिन सोमबार हाङझाउ डायान्जी विश्वविद्यालय जिम्नाजियमा फेन्सिङमा कुनै पनि नेपाली खेलाडीले जित निकाल्न सकेनन् । पुरुष साब्रे व्यक्तिगत स्पर्धामा पायस योञ्जनले ५ वटै खेलमा पराजय व्यहोरे । पायस काजकिस्तानका अर्टोक सर्किस्यान र हङकङका हो थिन लोसँग ५–० तथा उज्बेकिस्तानका सर्जोद ममुतोभ, इरानका पाक्दामान सायद इस्माइलजादेह र साउदी अरेबियाका अदेल मुख्लिद अल्मुलाइरीसँग समान ५–१ ले स्तब्ध बने ।

 पुरुष साब्रे व्यक्तिगत स्पर्धामै राजेन्द्र गजुरेल कुवेतका मोहम्मद अब्दुल करिमसँग ५–२, हङकङका लोन आरोन हो स्जे, चीनका यिनगुइ यान, भियतनामका भान क्वुयतसँग एनगुएन, दक्षिण कोरियाका सानगुक हो र जापानका काइलो स्ट्रिटसँग समान ५–० ले पराजित हुँदा उनको यात्रा समूह चरणबाट अघि बढेन । 

महिला फोइल व्यक्तिगततर्फ मन्दिरा थापाको यात्रा पनि समूहचरणमै टुंगियो । उनी हङकङकी नोक डाफी चेन, जापनकी सिरा अजुमा र दक्षिण कोरियाकी हियो जिन होङसँग समान ५–०, मकाउकी हियो ल्याम कुसँग ५–१ तथा थाइल्यान्डकी चायदा स्मृतिसुकुलसँग ५–३ ले निरास बनिन् । दक्षिण कोरियाकी सिना होङसँग ५–३, थाइल्यान्डकी चोक छायानीतपाट स्पिननेकर, जापानकी युका युनोसँग ५–१, सिंगापुरकी म्याक्सिन वाङसँग ५–४ र चीनकी क्वइयानक्यान हुआङसँग ५–० ले स्तब्ध बन्दा गोमा आर्चायको यात्रा पनि समूह चरणमै रोकियो ।

लन टेनिस : प्रदीप दोस्रो चरणमा रोकिए

हाङझाउ एसियाडअन्तर्गत लन टेनिसको पुरुष सिंगल्समा नेपालका प्रदीप खड्का दोस्रो चरणमा रोकिएका छन् । हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा भएको खेलमा जापानका सिन्तोरो मोचिजुकीले प्रदीपलाई ७–५ र ६–१ को सोझो सेटमा पराजित गरे । पहिलो चरणमा प्रदीपले टिमोर लिस्टेका एन्टोनियो मेन्डेसमाथि ६–० र ६–० को सहज जित हात पारेका थिए ।

पुरुष सिंगल्समै हङकङका कोलम्यान वोङ चक लामले नेपालका अभिषेक बाँस्तोलालाई पहिलो चरणमा सीधा सेटमा ६–२ र ६–० हराए । प्रदीप र अभिषेक दुवैको खेल १ घण्टा १३ मिनेट चलेको थियो । मिक्स डबल्समा इन्डोनेसियाका अल्डिला सुत्जिदा र बेन्जामिन क्रिस्टोफरको जोडीले नेपालका अभिषेक बाँस्तोला र अभिलाषा विष्टको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पाखा लगाए । खेल ५१ मिनेट चलेको थियो । 

महिला डबल्समा अभिलाषा विष्ट र माहिका राणाको जोडीको यात्रामा पनि पूर्णविराम लाग्यो । ५२ मिनेट चलेको खेलमा दक्षिण कोरियाका डायियोन ब्याक र बोयोङ जियोङको जोडीले अभिलाषा र माहिकाको जोडीलाई ६–१ र ६–० ले पाखा लगायो । अब नेपालले मिक्स डबल्समा मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । मंगलबार सुनीरा थापा र प्रणव खनालको जोडीले प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित: ९ आश्विन २०८० ०२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App