३ असार २०८१ सोमबार
image/svg+xml
खेल

नेपालको उपाधि जित्ने लक्ष्य

एसिया यु–२० रग्बी सेभेन्स

नेपालमा दोस्रो पटक एसिया रग्बीको आयोजना हुँदा घरेलु टोली प्रतियोगिताको दाबेदारीसहित शनिबार मैदानमा उत्रँदै छ। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा शनिबारदेखि दशरथ रंगशालामा एसिया यु–२० रग्बी सेभेन्स सुरु हुँदै छ, जहाँ नेपालका दुवै किशोर टोलीले दाबेदारी प्रस्तुत गरेका हुन्।  

सन् २०१५ देखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थालेको नेपालले उमेरसमूहको प्रतियोगिताबाट पहिलो अन्तर्राष्ट्रिय ट्रफी उचाल्ने लक्ष्य राखेको छ। सन् २०१४ मा एसिया रग्बीको एसोसिएट सदस्यता पाएको नेपाल २०१८ मा पूर्ण सदस्य राष्ट्र बन्यो। ‘गेट इन्टु रग्बी’ कार्यक्रमसँगै घरेलु गतिविधिमा पनि सक्रियता बढाएपछि गत वैशाखमा नेपाल विश्व रग्बीको पूर्ण सदस्य बन्न सफल भयो। त्यसयता नेपालले अन्तर्राष्ट्रिय गतिविधिमा सक्रियता बढाउँदै आएको छ।

नेपालले गत वर्ष मात्र यु–१८ एसिया रग्बीको आयोजना गरेको थियो। तर, व्यवस्थापकीय पक्ष राम्रो भए पनि खेलाडीले प्रतियोगितालाई नतिजामुखी बनाउन सकेनन्। यसपल्ट भने नेपालले दाबेदारी प्रस्तुत गरेको छ। शनिबारदेखि नै नेपालका दुवै किशोर टोलीले प्रतिस्पर्धा गर्दै छन्। दुवै टोलीले फाइनलसम्म पुग्ने लक्ष्य राखेका छन्। नेपालले सन् २०१५ भारतको चेन्नईमा सम्पन्न प्रिओलम्पिक क्वालिफायरबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सुरु गरेको हो। त्यसयता, एउटा उपाधि जित्न सकेको छैन। तर, पहिलो पटक नेपालले उपाधि जित्न दाबेदारी प्रस्तुत गरेको छ।

यो प्रतियोगिताका लागि संघले विशेष तयारी गरेको छ। तीन महिनाअगाडि मात्र विदेशी प्रशिक्षक नियुक्त गरेको संघले पोखरामा ५५ दिने विशेष प्रशिक्षणको व्यवस्था पनि गर्यो। दुवै टोली लामो समय श्रीलंकाली प्रशिक्षक सन विजेसिंघेको प्रशिक्षणमा रहे। संघका महासचिव गोविन्द घिमिरेले पनि यस पटक राम्रो तयारी रहेकाले नेपालले उपाधि जित्ने लक्ष्यका रहेको बताए। घिमिरेले प्रतियोगिताका लागि ढेड महिनादेखि तयारी गरिरहेको र खेलाडीले राम्रो सुधार गरेकाले उपाधि जित्न सक्ने विश्वास व्यक्त गरेका हुन्।

छोटो र प्रभावकारी तयारीबिना नै पछिल्लो संस्करणमा खेलेको नेपालले यस पटक पर्याप्त समय पाएको छ। त्यसैले पनि एसिया यु–२० रग्बी सेभेन्समा उपलब्धिमूलक हुने नेपाली यु–२० महिला टोलीकी कप्तान प्रिया तामाङको विश्वास छ। श्रीलंकाली प्रशिक्षक विजेसिंघेले पनि तयारीका लागि संघले आवश्यक पक्षमा राम्रो काम गरेको र सोहीअनुरूप खेलाडीले मिहिनेत गरेकाले सुखद नतिजा ल्याउने आशा राखेका छन्। नेपाली यु–२० पुरुष रग्बी टोलीका कप्तान रोहन डंगोल पनि यस पटक प्रतियोगितालाई नतिजामुखी नै बनाउने विश्वास व्यक्त गर्छन्। एसिया रग्बी सेभेन्समा पुरुष र महिला गरी नेपालसहित आठ राष्ट्र सहभागी हुँदै छन्।

रग्बीमा सन् २०१५ देखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थालेको नेपालले उमेरसमूहको प्रतियोगिताबाट पहिलो अन्तर्राष्ट्रिय ट्रफी उचाल्ने लक्ष्य राखेको छ।

पुरुषतर्फ नेपाल समूह ‘बी’मा छ। प्रतियोगिताकै बलियो टोलीका रूपमा हेरिएको हङकङसहित यस समूहमा भारत र मलेसिया छन्। यो समूहमा विजेता बन्दै नेपालको उपाधि दाबेदारका रूपमा आफूलाई उभ्याउने तयारी छ। तर, त्यसका लागि नेपालले पहिलो खेलमा भारतको चुनौती पार गर्नुपर्नेछ। महिलातर्फ भने राउन्ड रोबिन लिगमा खेल हुनेछ। चार राष्ट्र सहभागी लिगको शीर्ष दुईमा रहँदै नेपाली महिला टोलीले फाइनलमा पुग्ने लक्ष्य लिएको छ।

महिलातर्फ भने नेपालले पहिलो खेलमा हङकङको सामना गर्नेछ। संघले शुक्रबार दशरथ रंगशालामा प्रतियोगिताका लागि आफ्नो सम्पूर्ण तयारी पूरा भएको र प्रतिस्पर्धामा सहभागी हुने आठ टोलीले पनि नेपाल आइसकेको जानकारी दिएको छ। यस खेलमा करिब दुई सय विदेशी खेलाडी र २५ जना निर्णायक नेपाल आएको संघले जनाएको छ। यसै प्रतियोगिताका लागि एसिया रग्बीका अध्यक्ष कायस अल धलाई नेपाल आइसकेका छन्।  

नेपालले गत वर्ष मात्र यु–१८ एसिया रग्बीको आयोजना गरेको थियो। तर, व्यवस्थापकीय पक्ष राम्रो भए पनि खेलाडीले प्रतियोगितालाई नतिजामुखी बनाउन सकेनन्। यसपल्ट भने नेपालले बलियो दाबेदारी प्रस्तुत गरेको छ।

नेपालमा सम्पन्न संस्करण यु–१८ रग्बी सेभेन्सको विजेता संयुक्त अरब इमिरेट्सले यो प्रतियोगितामा प्रतिस्पर्धा गरेको छैन। यद्यपि, युथको प्रतिस्पर्धामा बलियो मानिएको हङकङ भने उपाधि जित्ने लक्ष्यका साथ आएको छ। मलेसियाले पनि बलियो दाबेदारी दिने लक्ष्य बनाएको छ। नेपाल रग्बी संघको अध्यक्ष दीपक देवकोटाले पनि सम्पूर्ण तयारी पूरा भइसकेको बताए। लगातार एसियाका दुई ठूलो प्रतियोगिता सफलतापूर्वक आयोजना गर्दै एसिया रग्बीमा आफ्नो छाप छोड्ने लक्ष्य नेपाल रग्बी संघको छ।  

साथै पर्याप्त प्राविधिक जनशक्तिमा कमजोर नेपाल यस प्रतियोगिताबाट त्यसको अभाव केही मात्रमा भए पनि पूर्ति गर्ने योजनामा छ। नेपालमा हुने रग्बीको यो ठूलो प्रतियोगितालाई सदुपयोग गर्दै हामी दक्ष प्राविधिकको उत्पादनमा समेत ध्यान दिएर संघले काम गरिरहेको नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले बताएका छन्। यो आयोजना लगत्तै नेपाल रग्बी संघ एसियाको अर्को कार्यक्रम नेपालमा भिœयााउने योजनामा छ।  

प्रकाशित: २ भाद्र २०८० ०१:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App