१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आगामी बजेटमा खेलाडीलाई पुरस्कार व्यवस्था गर्न माग

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमकै पूर्वसन्ध्यामा कास्की जिल्ला क्रिकेट संघले सामाजिक विकास मन्त्रालयलाई ज्ञापनपत्र पेश गरेको छ। संघले प्रदेश सरकारको आगामी बजेट मार्फत सम्बोधन गरिदिन आग्रहसहित सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडालाई एघारवुदें ज्ञापनपत्र पेश गरेको हो। संघका अध्यक्ष सन्जयकान्त सिग्देल, क्रिकेट प्रशिक्षक जगत टमटा, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम तथा प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेनसन प्रजूसहितको टोलीले ज्ञापन पत्र पेश गरिएको हो।  

ज्ञापनपत्रमा संघले गत वर्ष प्रदेशलाई प्रतिनिधित्व गरेर प्राप्त गरेको सफलतालाई उचित पुरस्कारको व्यवस्था गर्नुपर्ने उल्लेख छ। ‘गण्डकी प्रदेश सरकारले गत वर्ष महिला उमेर समूह विजेता बन्दा घोषणा गरिएको पुरस्कार अझै पाउन नसकिरहेको अवस्थामा पुनःयसलाई अगाडि बढाउन अनुरोध छ।’ गण्डकी प्रदेश महिला टोलीले गतवर्ष कर्णाली प्रदेशलाई पराजित गर्दै सुदुर पश्चिम मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो।  

उपाधि जितेर फर्किएको टोलीलाई तत्कालिन अर्थमन्त्री रामजीप्रसाद बरालले खेलाडीलाई खादा लगाई सम्मान गर्दै प्रत्येक खेलाडीलाई जनही ५० हजार दिने घोषणा गरेका थिए। त्यो घोषणा केवल घोषणमै सीमित रहेको जनाउँदै कास्की जिल्ला क्रिकेट संघले खेलाडीलाई प्रोत्साहन स्वरुप घोषित पुरस्कार प्रदान गर्न प्रदेश सरकार समक्ष आग्रहसहित मागपत्र पेश गरिएको संघका अध्यक्ष सिग्देलले जानकारी दिए।  

संघले विद्यालयस्तरीय छात्र तथा छात्राहरुको जिल्ला तहदेखि प्रदेशस्तरसम्म प्रतियोगिता सञ्चालन गर्न समेत ज्ञापनपत्र उल्लेख गरेको छ। संघले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडीहरुको भविष्यलाई सुनिश्चित गर्न र खेललाई जारी राख्न प्रेरित गर्न रोजगारीको व्यवस्था गर्नुपर्ने जोड दिएको छ। ज्ञापनपत्रमा जिल्लालाई प्रतिनिधित्व गर्दैै राष्ट्रिय टोलीमा सफल खेलाडीहरु दिपेश खत्री, करण केसी(पुरुष सिनियर), समीर सेन, अर्जुन कुमाल, सुवास भण्डारी, हरि चौहान(पुरुष उमेर समूह), सृष्टि जैसी, शिला रेग्मी क्षत्री(महिला उमेर समू, एशियाड चीन), मनिषा उपाध्याय(महिला सिनियर), सिब्रिन श्रेष्ठर सोहेल कुँवर( बन्द प्रशिक्षण यु–१६) र प्रदेशबाट किशोर महतो, दिपक डुम्रे, विज्ञान पाण्डे (बन्द प्रशिक्षण यु–१६ नवलपुर), अञ्जली विक(स्याङजा) रहेका छन्।  

बजेट मार्फत पोखरा क्रिकेट मैदानको स्तरोन्नति र कर्मचारीको व्यवस्थापन गर्नु समेत प्रदेश सरकारसँग आग्रह गरेको छ। पोखरामा बैकिल्पक मैदानसहित गण्डकी प्रदेशमा कम्तीमा तीन खेल मैदानको व्यवस्था गर्नु समेत आग्रह गरिएको संघका अध्यक्ष सिग्देलले सुनाए। राष्ट्रिय प्रतियोगिता आयोजना तथा जिल्ला तहमा एकेडेमी स्थापना गरी प्रशिक्षकको व्यवस्था गर्नुपर्नेमा समेत जोडदिइएको छ।  

आगामी सन २०२७मा यु–१९ महिला क्रिकेटको विश्वकप बंगलादेशसँग सह आयोजना गर्ने तयारी नेपाल क्रिकेट संघले गरेको जनाउँदै पोखराको क्रिकेट मैदानलाई स्तरोन्नति गरी बैकल्पिक मैदानको रुपमा विकास गर्नुपर्ने ध्यानाकर्षण समेत संघले गरेको छ। संघले खेल कुटनैतिक सम्बन्ध विस्तारका लागि नेपालस्थित कुटनैतिक नियोगका प्रमुखहरु र यहाँका सरकार प्रमुखहरु बीच मैत्रीपूर्ण खेल आयोजना गर्ने, कर्पोरेट हाउसहरुलाई खेलमा सहभागि गराई लगानी प्रेरित गर्न साथै अन्तराष्ट्रिय उडान भर्ने जहाज कम्पनीहरुलाई पोखराबाट भर्न अनुरोध गर्र्दै उनीहरुकै सहभागितामा कर्पोरेट क्रिकेटको आयोजना गर्ने जस्ता विषयलाई ज्ञापनपत्रमा समावेश गरिएको छ।  

प्रकाशित: २१ जेष्ठ २०८० ११:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App