२५ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

स्मिथको कप्तानी इनिङ

राँची- कप्तान स्टिभ स्मिथले शतक बनाउनुका साथै टोलीमा पुनरागमन गरेका ग्लेन म्याक्सवेलसँग १ सय ५९ रनको साझेदारी गरेपछि अस्ट्रेलियाले बिहीबार भारतविरुद्धको तेस्रो टेस्टमा राम्रो शुरुआत गरेको छ।

राँचीमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया पहिलो दिनको समाप्तिमा २९९–४ को स्थितिमा छ। पहिलोपल्ट टेस्टको आयोजना गरेको राँची क्रिकेट मैदानमा अस्ट्रेलियाले आफ्नो ८ सयौं टेस्ट खेलिरहँदा स्मिथ १ सय १७ र म्याक्सवेल ८२ रनमा अविजित छन्।

दोस्रो टेस्टमा डिआरएस प्रणालीलाई लिएर भारतमा स्मिथको चर्को आलोचना भएको थियो। उनै स्मिथले म्याक्सवेलसँग पाँचांै विकेटका लागि अविजित १ सय ५९ रनको साझेदारी गरे। यी दुईले १४०–४ को स्थितिबाट अस्ट्रेलियाको इनिङ उकासेका हुन्।

भारतीय तिव्र गतिका बलर उमेश यादवले २ विकेट लिए भने स्पिनरद्वय रविचन्द्रन आश्विन र रवीन्द्र जडेजाले १/१ विकेट लिए।

मुरली विजयको बलमा चौका प्रहार गरेर स्मिथले १९औं टेस्ट शतक पूरा गर्दै घरेलु दर्शकमाझ ब्याट र हेलमेट उचालेर गल्ती सच्याउने प्रयास गरे। ५२औं टेस्ट खेलिरहेका स्मिथले ५ हजार रन पूरा गरेका छन्।

‘विगतलाई नियन्त्रण गर्न सकिँदैन। त्यो गल्ती थियो र त्यहाँबाट माथि उठ्न चाहन्छु भनेर मैले भनिसकेको छु,’ स्मिथले भने, ‘हामीले ४ विकेट गुमाएर ३ सय रन बनाइसक्यौं। तर भोलिको दिन हाम्रा लागि महŒवपूर्ण छ।’

यससँगै भारतमा भएको टेस्ट शृंखलामा २ शतक पूरा गर्ने उनी पहिलो अस्ट्रेलियन कप्तान बनेका छन्। उनले पुनेमा १ सय ९ रन बनाएका थिए। वेस्ट इन्डिजका क्लिभ ल्योड (१९७४–७५ र १९८३–८४) र इङ्ल्यान्डका एलेस्टर कुक (२०१२–१३) मात्र भारतमा दुई वा दुईभन्दा धेरै शतक प्रहार गर्ने विदेशी कप्तान हुन्।

मिचेल मार्स घाइते भएका कारण टोलीमा स्थान बनाएका म्याक्सवेलले जडेजाको बलमा छक्का प्रहार गरेपछि रनको गति बढाएका थिए। चौथो टेस्ट खेलिरहेका म्यक्सवेलले अविजित ८२ रन जोड्ने क्रममा ५ चौका र २ छक्का प्रहार गरे।

म्याक्सवेल र स्मिथले गरेको अविजित १ सय ५९ रनको साझेदारी अस्ट्रेलियान ब्याट्सम्यानले पाँचांै विकेट लागि भारतमा गरेको सबैभन्दा ठूलो साझेदारी हो। यसअघि माइकल क्लार्क र म्याथ्यु वेडले २०१३ मा १ सय ४५ रनको साझेदारी गरेका थिए।

‘म्याक्सवेलले निकै राम्रो क्रिकेट खेले। राम्रो बलमा रक्षात्मक बन्दै खराब बललाई हान्न उनी पनि पछि परेनन्,’ म्याक्सवेलबारे स्मिथले भने, ‘पिच राम्रो छ। त्यसैले हामीले जतिसक्दो धेरै रन बनाउनु आवश्यक छ।’

४०औं ओभरमा भारतका कप्तान विराट कोहलीको फिल्डिङ गर्ने क्रममा कुममा चोट लागेपछि मैदान छाड्नुपरेको थियो। बाँकी दिन अजिन्क्या रहानेले भारतको कप्तानी सम्हाले।

लङ अनमा चौका जोगाउन ‘डाइभ’ गर्ने क्रममा कोहलीको कुम बजारिएपछि कोहलीले अप्ठ्यारो महसुस गरेका थिए। ‘ड्रेसिङ रुम’ मा पनि उनी ‘आइस प्याक’ लगाएर बसिरहेका थिए।

‘कोहलीको वास्तविक अवस्था थाहा पाउन भोलिसम्म कुर्नुपर्छ। बेलुकी हामी उनको स्क्यान गर्नेछौं,’ भारतका फिल्डिङ प्रशिक्षक रामकृष्ण श्रीधरले भने, ‘उनको चोट बढ्न नदिन हामीले सावधानी अपनाइरहेका छौं।’

त्यसअघि १३ चौका प्रहार गरेका स्मिथले पिटर ह्यान्डकोम्बसँग चौथो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए। ह्यान्डकोम्बले १९ रन जोडे।

बिहानी सत्रमा अस्ट्रेलियाले ३ विकेट गुमाइसकेको थियो। ४४ रन बनाएका ओपनर म्याट रेनशो उमेश यादवको बलमा कोहलीबाट फस्ट स्लिपमा क्याच भए। रेनशो र डेविड वार्नरले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरे। बायाँहाते स्पिनर जडेजाको बलमा वार्नर १९ रनको स्थितिमा पवेलियन फर्किएका थिए। शान मार्स रनको अवस्थामा आश्विनको बलमा पूजाराबाट क्याच भए।

४ टेस्ट शृंखलामा पहिलो टेस्ट अस्ट्रेलियाले जितेको थियो भने दोस्रो टेस्टमा भारत विजयी भएको थियो।

प्रकाशित: ४ चैत्र २०७३ ०४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App