६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

युनिका र भिजनलाई स्वण

पुष्पलाल मेमोरियलकी युनिका खतिवडा र बाल गीताञ्जलीका भिजन तामाङले प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन्।

श्री सुन्दरी माई तेक्वान्दो डोजाङ, नेपालद्वारा आयोजित प्रतियोगिताको एकल पुम्सेतर्फ महिलामा युनिका तथा पुरुषमा भिजन पहिलो भएका हुन्। महिलामा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) की प्रगति कुइँकेल दोस्रो तथा सुसंस्कारकी सिजल लामा र चन्द्रागिरीकी सिमानी लामा तेस्रो भए। पुरुषमा एनटिएका आयुश ढुंगेल दोस्रो तथा चन्द्रागिरीका लवाङ लामा र आयोजकका आदर्श बुढाथोकी तेस्रो बने।

गोकर्णेश्वर नगरपालिकाको प्रायोजन तथा गोकर्णेश्वर नगर खेलकुद विकास समिति र गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजनमा भइरहेको प्रतियोगिताको पुरुष २० केजीमा एम्बासडरका कविर मगर पहिलो भए। उनले फाइनलमा एनटिएका अर्थ कुइँकेललाई पराजित गरे। २५ केजीमा एनटिएका प्रशान्त धमलाले एम्बासडरका सञ्जीव जिरेललाई हराउँदै स्वर्ण जिते। २८ केजीमा चन्द्रागिरीका समीर ठाकुरले शीर्ष स्थान हात पारे। समीरले फाइनलमा एनटिएका कुशल बाँस्तोलालाई पाखा लगाए।

गोकर्णेश्वर नगरपालिका वडा १ को सुन्दरीजलस्थित ओख्रेनी माविमा भएको महिला २० केजीमा आयोजककी पुनम घिमिरेले फाइनलमा एनटिएकी स्मारिका गौतमलाई पन्छाउँदै पहिलो भइन्। २५ केजीमा कोटेश्वरकी हृदयानी बस्नेतले एम्बासडरकी याङ्गी शेर्पाको चुनौती समाप्त पार्दै स्वर्ण चुमिन्। ३२ केजीमा एनटिएका भिजन तामाङले पुष्पलालका सुवास भुजेलमाथि जित रच्दै शीर्ष स्थान हात पारे।

प्रतियोगिताको संघीय सांसद सन्तोष चालिसेले निर्णायकलाई एक कार्यक्रमबीच खेलसामग्री हस्तान्तरण गर्दै उद्घाटन गरे। प्रतियोगितामा गेरोगीमा २१ तथा पुम्से (एकल) मा २ गरी जम्मा २३ स्पर्धामा ३ सय १२ खेलाडीको सहभागिता रहेको आयोजक डोजाङका प्रमुख एवं प्रतियोगिता संयोजक सुवासचन्द्र गौतमले जनाएका छन्। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।

प्रकाशित: २३ वैशाख २०८० ०३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App