११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

विद्यार्थी लक्षित मुआथाईको निःशुल्क प्रशिक्षण

भर्खरै परीक्षा सकेर बसेको विद्यार्थीलाई लक्षित गर्दै गण्डकी प्रदेश मुआथाई संघले मुआथाई प्रशिक्षण शुरु गरेको छ। संघले निःशुल्क ‘स्प्रिङ क्याम्प’ एकसातादेखि पोखरा रंगशालामा शुरु गरेको हो।  

संघले ७ वर्षदेखि १६ वर्ष उमेर समूहका परीक्ष सकेर बसेका बालबालिकालाई लक्षित गर्दै क्याम्प शुरु गरेको जनाएको छ। ‘विद्यार्थीलाई लक्षित गरेर मुआथाईको एक महिना निशुल्क प्रशिक्षण शुरु गरिएको छ,’ प्रदेश मुआथाई संघका अध्यक्ष दिपकबहादुर गोदारले भन,‘एसर्ईई दिएर बसेका विद्यार्थीलाई पनि निशुल्क प्रशिक्षण दिईने छ।’

उनका अनुसार प्रशिक्षण पोखरा रंगशालामा शुरु भईसकेको छ। एसईई दिएर बसेका बालबालिकालाई समेत निःशुल्क प्रशिक्षण क्याम्पमा सहभागिता जनाउन सक्ने छन्। अभिभावकलाई आफना बालबालिकालाई स्वास्थ्यको लागि मात्रै नभई आत्मरक्षाको लागि मुआथाई भन्ने अभियानसहित निशुल्क प्रशिक्षणमा सहभागिता गराउन आग्रह गरेको छ।  

मुआथाईको यो पहिलो निशुल्क प्रशिक्षण क्याम्प समेत हो। अन्तर्राष्टियय मान्यता प्राप्त छ। मुआथाईसँगै मार्शल आर्टस तथा आत्मरक्षा(सेल्फ डिफेन्स)को प्रशिक्षण समेत गराईन संघले जनाएको छ। पोखरामा २०६२ सालदेखि मुआथाई खेलको शुरुवात भएको हो। २०६२ सालमा दिपकबहादुर गोदारले थाईल्याण्डमा प्रशिक्षण गरेर फर्किएपछि पोखरामा मुआथाई खेलको शुरुवात भएको हो। यद्यपी २०६६ सालमा अन्तर्राष्ट्रिय मुआथाई महासंघ (आईएफएमए, इन्टरनेशनल फेडेरेसन अफ मुआथाई एशोसिएसन)बाट अन्तर्राष्ट्रिय सम्बन्धन प्राप्त गरी राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएपछि मुआथाईको विस्तार भएको हो।  

पाँचवर्षअघि पोखरा कुमार थापाले कोरियाको राजधानी सिओलमा आयोजित यु–१६ मुआथाई च्याम्पियनसिपमा रजत पदक जितेर फर्किएका थिए। उनीसँगै गण्डकी प्रदेशबाटै निष्मा बस्याल र प्राप्ती बतासले समेत मुआथाईको अन्तराष्ट्रिय एरिनामा पदक जितेर ल्याईएका छन्। निशुल्क प्रशिक्षण ‘स्प्रिङ क्याम्प’ मा गण्डकी प्रदेशकी प्रशिक्षक ज्योति मल्लले प्रशिक्षण दिने समेत संघले जनाएको छ। प्रशिक्षक मल्लसँगै संघका अध्यक्ष दिपकबहादुर गोदार, प्रशिक्षकहरु खगेन्द्र क्षत्री, सुवास खड्का तथा विजय गुरुङले प्रशिक्षण दिने संघले जनाएको छ।  

मुआथाई निशुल्क प्रशिक्षण कार्यक्रमलाई गण्डकी प्रदेश खेलकुद परिषदले विशेष सहयोग गरेको छ। पोखरा महानगरपालिकाले समेत सहयोगी भूमिका खेलेको छ। नेपालबाट सन २०१० मा दिपकबहादुर गोदा, गणेश कक्षपति र निर्मल पहारी थाइल्याण्डमा सहभागि भएका थिए। सन २०१६ मा तुर्किमिनिस्तानमा पोखराका खेलाडी नवराज गुरुङ इन्डोर एशियन गेम्समा सहभागिता जनाएका थिए। अन्तराष्ट्रिय एरिनामा रुपक नेपाली, तुलसी थापा लगायत सहभागिता जनाई सकेका छन्। पोखरामा २०६४ सालदेखि मुआथाई खेलको प्रशिक्षण शुरु भएको हो। २०६८ सालमा जिल्ला संघ गठन गरेपछि खेलले व्यापकता पाएको थियो।  

प्रकाशित: २७ चैत्र २०७९ ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App