इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा रहेको नेपोलीले संघर्षपूर्ण जित निकालेको छ। शुक्रबार राति भएको खेलमा नेपोलीले घरेलु टोली लेसमाथि २–१ को संघर्षपुर्ण जित निकाल्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको हो। घरेलु टोलीले आत्मघाती गोल गर्दा नेपोलीलाई फाइदा पुगेको हो। लेसका लादमिरो फाल्कोनले ६४औं मिनेटमा आत्मघाती गोल गरेपछि नेपोली २-१ को स्थितिमा आयो। यसअघि १८औं मिनेटमा जियोभानी डि लोरेन्जोको गोलबाट नेपोलीले सुरुवाती अग्रता दिलाएका थिए तर ५२औं मिनेटमा फेडरिकोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
यस जितसँगै शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो स्थानको लाजियोमाथि १९ अंकको अग्रता बनाएको छ । नेपोलीको २९ खेलबाट ७४ अंक पुगेको छ । एक खेल कम खेलेको लाजियोको ५५ अंक छ । पराजित लेस २७ अंक जोडेर १६औं स्थानमा छ ।
प्रकाशित: २५ चैत्र २०७९ ०२:५४ शनिबार