१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

भूपेन्द्र र महेन्द्र सेमिफाइनलमा

विभागीय टोली नेपाल पुलिसका भूपेन्द्र थापा र सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द राजधानीमा जारी वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको हलमा बुधबार पुरुष ६३ केजी तौलसमूहमा भूपेन्द्रले कर्णाली प्रदेशका नेत्रकुमार तिरुवा तथा महेन्द्रले गण्डकी प्रदेशका निश्चल गुरुङलाई पराजित गरे। सोही तौल समूहमा एपिएफका सोनाम सार्कीले कोशी प्रदेशका बलबहादुर पुन तथा बाग्मती प्रदेशका सागर दर्जीले मधेस प्रदेशका प्रज्वल मगरलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन्।

पुरुष ५७ केजीमा प्रहरीका शम्भु राजवंशीले गण्डकीका समीर थापा, बाग्मतीका सुलभ मालीले मधेस प्रदेशका आयुशसिंह भण्डारी, सुदूरपश्चिमका रामबहादुर थापाले लुम्बिनीका महसुस बस्नेत तथा कोसीका सुरेन्द्र राईले एपिएफका पुरन राईलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।

गणेशमानसिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ५१ केजीमा मधेसका लक्ष्मण राईले कर्णालीका जीवनकुमार पुनमाथि जित रच्दै सेमिफाइनलमा स्थान बनाए। पुरुष ७१ केजीमा बाग्मती दावा छिरिङ लामाले कर्णालीका देवेन्द्र थापालाई पन्छाउँदै सेमिफाइनल यात्रा तय गरे।

नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको महिला ५० केजीमा बाग्मतीकी सुष्मा तामाङले एपिएफकी नाङ्जा बुढामगर, कर्णालीकी तेजीमाया गुरुङले लुम्बिनीकी शारदा न्यौपाने, मधेसकी अस्मिता दुवालले प्रहरीकी दिवाना शेर्मा र सुदूरपश्चिमकी सोनिया शेट्ठीले गण्डकीकी नयरा पुर्जालाई पराजित गरी सेमिफाइनलमा स्थान पक्का गरे।

महिला ५४ केजीमा बाग्मतीकी अन्जनी तेलीले सुदूरपश्चिमकी अस्मिता केसी तथा एपिएफकी सन्जुमाया थिङले कर्णालीकी रोजिना रञ्जितकारलाई हराउँदै सेमिफाइनलमा पुगे। महिला ५७ केजीमा एपिएफकी शर्मिला तामाङले कर्णालीकी सुशीला थापा, प्रहरीकी निशा तामाङले कोसीकी नारिका राई र बाग्मतीकी पेमा शेर्पाले गण्डकीकी प्रियंका गुरुङको चुनौती समाप्त पार्दै सेमिफाइनलमा पुग्न सफल भए।

प्रकाशित: २३ चैत्र २०७९ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App