coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ऐतिहासिक यात्रा तय गर्ने लक्ष्य

आइसिसी विश्वकप लिग–२ कै अन्तिम खेलमा नेपालले पाहुना टोली संयुक्त अरब इमिरेट्स(युएई) विरुद्ध जितसहित ऐतिहासिक यात्रा तय गर्ने लक्ष्य राखेको छ।

पछिल्ला ११ खेलमा १० खेल जितेको नेपाल उच्च मनोबलमा साथ घरेलु मैदानमा उत्रनेछ। जहाँ नेपालले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा घरेलु समर्थकको साथ पनि पाउनेछ। यता, युएई भने पछिल्ला समय खराब लयबाट गुज्रिँदा सीधा विश्वकप छनोट खेल्ने सम्भावनासँगै एकदिवसीय मान्यता पनि गुमाउन पुग्यो। यसबीच युएईले पछिल्ला ११ खेलमा ९ हार सामना गर्‍यो। तर, बुधबार पिएनजीमाथि ६ विकेटको रबाफिलो जित निकाल्दै युएईले नेपाललाई पनि सचेत गराएको छ। यो जितले युएईमा केही आत्मबल बढेको पक्कै छ। त्यसैले नेपालका लागि बिहीबार युएई सहज प्रतिद्वन्द्वी नरहन सक्छ।

बिहीबारको खेल युएईका लागि जितबाहेक अर्थहीन छ। यो जितले युएईको कुनै गन्तव्य त छैन। तर, नेपालविरुद्ध जित निकाल्दै युएई पनि प्लेअफको बलियो दाबेदारका रूपमा प्रस्तुत हुन चाहन्छ। यता, नेपालका लागि भने यो खेल सुनौलो अवसर हो। जहाँबाट नेपालले सीधा माध्यमबाट विश्वकप छनोट खेल्ने लक्ष्य राखेको छ। यी दुईबीचको नतिजासँगै सन् २०१९ अगस्टदेखि सुरु विश्वकप लिग–२ को पहिलो संस्करण पनि सम्पन्न हुनेछ। यो लिग–२ को १२६औं खेल हो, जुन नेपालका लागि निर्णायक प्रतिस्पर्धा बन्यो। एक समय नेपाल सीधा विश्वकप छनोट त परै जाओस्, एकदिवसीय मान्यता जोगाउन पनि संघर्षपूर्ण अवस्थामा थियो।

यद्यपि, एक महिनाभित्र नेपाली क्रिकेटका लागि अविश्वसनीय रह्यो। अझ भनौं नेपालका पक्षमा अद्भुत नतिजा आए र जहाँबाट नेपाली क्रिकेटले नयाँ रेखा कोरेको बुझ्दा फरक नहोला। गत माघ २३ गते नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भारतका मोन्टी देशाईले सफलताको नयाँ रेखा कोरेका हुन्। उनले गुट–उपगुटमा रहेको नेपाली राष्ट्रिय टोलीभित्र एकता मात्र ल्याएनन् एक महिनाको बीचमा उत्कृष्ट नतिजा पनि दिलाए। २४ खेलबाट १८ अंकसहित नेपाल छैटौं स्थानमा रहँदा उनले सो जिम्मेवारी समालेका थिए। जहाँबाट नेपालको सीधा विश्वकप छनोट यात्रा र एकदिवसीय मान्यता दुवै संकटमा देखिएका थिए।

यद्यपि, प्रशिक्षक देशाई र स्वयम् नेपाली खेलाडीले भने सम्भव गराए। तर, बिहीबार यसलाई पूर्णता दिने अर्को अवसर प्रशिक्षक र खेलाडीसमक्ष छ। पत्रकारसँगको पहिलो भेटघाटका क्रममा प्रशिक्षक मोन्टीले नेपालको एकदिवसीय मान्यता जोगिन सक्ने प्रतिक्रिया दिएका थिए। सोहीअनुरूपमा आइतबार नै युएईलाई नै हराउँदै नेपालले एकदिवसीय मान्यता पनि जोगायो।

यसबीच लिग–२ मा नेपालको विजययात्रा पनि यादगार नै रह्यो। १२ खेल बाँकी छँदा जिम्मेवारी समाल्न आइपुगेका देशाईले ११ मध्ये १० खेल जिताए। अब युएईविरुद्ध नै निर्णायक खेल जिते नेपालले अर्को अविश्वसनीय यात्रा तय गर्नेछ, जुन मोन्टीको प्रशिक्षण करियरमा समेत सदैव यादगार रहनेछ।

शनिबार युएईमाथि जित निकाल्दै आगामी चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको नेपालले सोही टोलीविरुद्ध बिहीबार सफलता निकालेमा घरेलु समर्थकलाई पनि अर्को खुसी प्रदान गर्नेछ। नेपालको जितमा स्पिनर सन्दीप लामिछानेसँगै ओपनरले कस्तो सुरुआत गर्छन् भन्ने पनि निर्भर हुन्छ। कुल ७१ विकेट लिएका सन्दीप लिग–२ को दोस्रो सर्वाधिक विकेटकर्ता हुन्। साथै बलिङमा उनले साथ पाए युएईका ब्याटर पूर्ण दबाबमा रहनेछन्। यस अघिका १० जितमा जस्तै बिहीबार नेपाली ब्याटरले धैर्यता राख्दै ५० ओभर नै ब्याटिङ गर्ने लक्ष्य राख्नु पर्छ।

सात राष्ट्र सम्मिलित लिग–२ को शीर्ष तीन टोलीले जिम्बाब्वेमा हुने विश्वकप छनोटमा खेल्ने पाउनेछन्। यसैबीच स्कटल्यान्ड र ओमान शीर्ष दुईमा रहँदै छनोटमा स्थान बनाइसकेका छन्। तेस्रो स्थानका लागि नेपाल र नामिबियाका दाबेदार हुन्। ३६ खेल पूरा गरेको नामिबियाको ३९ अंक र ३५ खेलबाट नेपालको ३८ अंक छ। बिहीबार युएईविरुद्ध जित निकाल्दा नेपालले नामिबियालाई एक अंकले पछि पार्दै जिम्बाब्वेको यात्रा तय गर्नेछ।

१० राष्ट्र सम्मिलित विश्वकप छनोट जिम्बाब्वेमा आगामी जुन १८ देखि सुरु हुनेछ। उक्त छनोटमा सुपर लिगका पुछारका पाँच टोली, लिग–२ को शीर्ष तीन र प्लेअफका दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपालको जित सम्भव भएमा नामिबियाले घरेलु भूमिमा हुने प्लेअप खेल्नेछ। लिग–२ का पुछारका चार टोलीले आगामी मार्च २४ देखि नामिबियामा हुने प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्। कुल ६ राष्ट्रको प्रतिस्पर्धाबाट दुई टोलीले जिम्बाब्वेमा हुने छनोटमा प्रतिस्पर्धा गर्नेछन्। 

प्रकाशित: २ चैत्र २०७९ ००:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App