अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सीलाई अर्को विश्वकपमा पनि अवसर दिने बताएका छन्। मेस्सीले खेल्न चाहेमा अर्को विश्वकपमा पनि उनकाे लागि ढोका खुल्ला रहेको स्कालोनीले बताएका हुन्।
लुसेल स्टेडियममा सम्पन्न फाइनल खेलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा साविक विजेता फ्रान्सलाई ४-२ ले हराउँदै ३६ बर्षपछि र मेस्सीले पहिलोपटक विश्वकप उपाधि हात पारे।
अन्ततः विश्व फुटबलमा अन्तिम पुरस्कार उचालेर जीवनभरको सपना पूरा गरेपछि मेस्सीले सन्यास लिन सक्ने धेरैले आंकलन गरेका थिए। तर केही क्षणमै मेस्सीले निकट भविष्यमा अन्तर्राष्ट्रिय जिम्मेवारीबाट सन्यास लिने योजना नरहेको घोषणा गरे। यो निर्णयलाई उनका प्रशिक्षकले स्वागत गरेका छन्।
स्कालोनीले पत्रकार सम्मेलनमा भने, ‘मेस्सीले खेल्न मन लाग्छ भने हामीले १० नम्बरको जर्सी अर्को विश्वकपका लागि तयार गर्नुपर्छ भन्ने मलाई लाग्छ।’
‘उनले आफ्नो करियरमा आफूले चाहेको कुरा गर्ने अधिकार कमाए। उनले आफ्नो टोलीका साथीहरूलाई जे पठाउँछन् त्यो अविश्वसनीय छ। मैले ड्रेसिङ रुममा त्यस्तो प्रभावशाली व्यक्ति कहिल्यै देखेको छैन।’, स्कालोनीले भने।
स्कालोनीले गत वर्षको कोपा अमेरिकामा ब्राजिललाई फाइनलमा हराएपछि आफू अपराजय महसुस गर्न थालेको बताए।
‘ब्राजिललाई हराएपछि मैले मेस्सीसँग कुराकानी गरें। हाम्रो अगाडि एउटा ठूलो काम थियो।’, उनले भने।
सन् १९८६ मा अर्जेन्टिनालाई अन्तिम पटक उपाधि दिलाएका डिएगो म्याराडोनाको मृत्यु भएको दुई वर्षपछि मात्रै विश्वकप जित्न आउँदै गर्दा भावुक स्कालोनीले भने, ‘मलाई अहिले मात्र थाहा भयो कि म्याराडोना अब हामीसँग छैनन् र यसले मलाई सोच्न बाध्य बनायो कि उहाँ जहाँ हुनुहुन्छ त्यहाँबाट हामीलाई खुशी र गर्व गर्नुहुनेछ।
‘यदि उहाँ यहाँ हुनुहुन्थ्यो भने, उहाँ हामीसँग उत्सव मनाउन मैदानमा पाइला चाल्ने पहिलो फ्यान हुनुहुने थियो।’ उनले भने, ‘मलाई आशा छ कि उहाँले हामीले हासिल गरेको कुराको आनन्द उठाउनुभएको छ।’
प्रकाशित: ४ पुस २०७९ ०८:२७ सोमबार





