coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

धैर्यले शिखरतर्फ रिजर्भ गोलकिपर

यासिन बौनोउले आफ्नो करियरमा धैर्यता गर्न सिकिसकेका छन्, तर अवरोधकको उपमा पाएको मोरक्कोका गोलकिपर विश्व फुटबलको ठूलो प्रतिस्पर्धामा आफूलाई प्रमाणित पनि गरिरहेका छन्।  

उनी सन् २०१७ को अफ्रिकी कप र २०१८ को विश्वकपमा मोरक्कोको टोलीमा थिए, तर प्रयोग भएनन्। यद्यपि, उनै बौनोउ कतार विश्वकपमा भने मोरक्को मात्र नभई समग्र अफ्रिकी फुटबलका लागि नै नयाँ इतिहास कायम गर्न सफल भए। मोरक्कोको वर्तमान टोलीमा रहेका १४ खेलाडी विदेशी भूमिमा नै जन्मिएका हुन्। त्यसैले उनीहरूबीच मोरक्कोका लागि एकता हुनु नै ठूलो चुनौती थियो। योभन्दा पनि उनीहरूले जसरी विश्वकपमा उत्कृष्ट रक्षापंक्ति प्रस्तुत गरेका छन्, जुन कुनै पनि टोली त्यो क्षमता देखाउन असफल भए। कतार विश्वकपमा मोरक्कोले पाँच खेलमा मात्र एक गोल बेहोरेको छ।  

बौनोउले सन् २०१८ को उपविजेता क्रोएसियालाई विश्वकपको पहिलो खेलमा नै गोल गर्न दिएनन्। तर पनि उनी बेल्जियमसँगको दोस्रो खेलमा टिममा नै परेनन्। जुन खेलमा मोरक्कोले फिफा वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियममाथि २–० को जित रचेको थियो। उनको स्थानमा अर्का गोलकिपर मुनिर इल काजोईले अवसर पाए। पछि मोरक्कोका प्रशिक्षक वालिद रेग्ग्रेगुईले पनि क्रोएसियासँगको खेलपछि बौनोउ अस्वस्थ भएकाले उनलाई आराम दिएको प्रतिक्रिया दिएका थिए। ३१ वर्षे बौनोउले क्यानडाविरुद्ध २–१ को हारपछि भने उनको खुट्टा गलत स्थानमा परेको छैन।  

क्यानडामा जन्मिएका बौनोउले त्यसपछि कुनै पनि खेलमा गोल खाएका छैनन्। उक्त खेलमा पनि मोरक्कोका डिफेन्डर नइफ एग्वोर्डले आत्मघाती गोल गरेका हुन्। क्यानडासँग रोमाञ्चक जितपछि मोरक्को विश्वकप इतिहासमा दोस्रो पटक नकआउट चरणमा प्रवेश गर्न पनि सफल भयो। समूह ‘एफ’ बाट मोरक्को अप्रत्याशित रूपमा विजेता नै बनेको हो। किनकि त्यो समूहमा गत संस्करणको उपविजेता क्रोएसिया थियो। जुन टोलीले पाँच पटक विश्वविजेता ब्राजिललाई नै स्तब्ध बनाउँदै कतार विश्वकपको सेमिफाइनलमा नै स्थान बनाइसकेको छ। एक मात्र आत्मघाती गोल भएकाले कुनै पनि खेलाडी यस विश्वकपमा मोरक्कोविरुद्ध गोल गर्न सकेका छैनन्।

अन्तिम १६ को खेलमा पनि उत्तरी अफ्रिकी मोरक्कोले उपाधि दाबेदार नै मानिएको स्पेनसँगलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाएको थियो। पेनाल्टी सुटआउटमा स्पेनका पाब्लो सारबियाको पहिलो प्रहार पोस्टमा लाग्यो। तर, कार्लोस सोलर र सर्जियो बुस्केटको पेनाल्टी प्रहार भने बौनोउले रोकेपछि मोरक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्यो। उनी फेरि पनि बलियो टोली पोर्चुगलविरुद्ध म्यान अफ दी म्याच भए। जुन खेलमा मोरक्कोले पोर्चुगलमाथि १–० को जित निकालेको थियो। त्यो हारपछि पोर्चुगलका स्टार एवम् पाँच पटक बालोन डि’ओर विजेता क्रिस्टियानो रोनाल्डोको विश्वकप जित्ने सपना नै अधुरो रह्यो।

‘मेरा लागि यस्ता क्षणहरू विश्वास गर्न नै कठिन भएको छ,’ बौनोउले भने, ‘तर पनि हामीले आफ्नो मानसिकता भने परिवर्तन गर्नुपर्छ। मोरक्कोका खेलाडीले विश्वका कुनै पनि देशलाई चुनौती दिन सक्छन् भन्ने प्रमाणित गर्न सक्नुपर्छ।’ मोरक्कोका आगामी पिँढीका खेलाडीले आफ्नो देशले पनि गर्न सक्छन् भन्ने मानसिकता देखिने बौनोउको धारणा छ। बौनोउ क्यानडाको मन्ट्रियलमा जन्मिएका हुन्। उनी सात वर्षका छँदा उनको परिवार क्यानडाबाट मोरक्को सर्‍यो। त्यसपछि उनी मोरक्कोकै वाइदाद कासाब्लान्का एकेडेमीमा आबद्ध रहे। त्यहाँबाट उनले १९ वर्षकै उमेरमा पहिलो टोलीबाट खेले। सन् २०११ को काफ च्याम्पियन्स लिग फाइनल खेल्ने अवसर पनि पाए।  

सोही वर्ष उनी स्पेनिस क्लब एट्लेटिको मड्रिडमा आबद्ध भए। तर, त्यहाँ उनी दुई सिजन नै रिजर्भ गोलकिपरका रूपमा रहे। त्यसपछि उनी दोस्रो डिभिजनका क्लब रियाल जारागोजामा लोनमा पुगे। एट्लेटिकोमा कमै मात्र अवसर पाउन थालेपछि उनी सन् २०१६ मा स्थायी रूपमा नै जिरौनासँग जोडिए। उक्त टोलीलाई स्पेनको शीर्ष डिभिजनको क्लब बनाउन सफल पनि भए। हर्भे रेनार्डले सन् २०१८ को विश्वकपमा मुनिरलाई पहिलो रोजाइको गोलकिपरमा रोजे। जुन विश्वकपमा मोरक्कोको यात्रा समूहचरणमा नै सीमित भयो। तर, त्यसयता भने उनी आफ्नो जर्सीमा नम्बर एक लेखाउन सफल भए।

जिरौना रेलिगेसनमा परेपछि उनी सन् २०१९/२० को सिजन सेभियामा जोडिए। जहाँ उनको प्ररेणामा क्लबले छैटौं पटक युरोपा लिगको उपाधि पनि जित्यो। उनी चेक रिपब्लिकका गोलकिपर टोमस भाचलिकलाई पछि पार्दै सेभियाको पहिलो रोजाइका गोलकिपर बन्न सफल भए। ला लिगामा सबैभन्दा कम अनुपातमा गोल बेहोरेपछि उनले जामोरा अवार्ड पनि जितेका छन्। ‘जब तपाईसँग विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक हुन्छन्। त्यसले तपाईलाई पनि आत्मविश्वास प्रदान गर्दछ,’ पोर्चुगललाई हराएपछि रेग्रेगुईले भनेका थिए। मोरक्को सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन टोली बनिसकेको छ। अब मोरक्कोले डिफेन्डिङ च्याम्पियन फ्रान्सको सामना गर्दै छ। उक्त टोलीमाथि पनि जित रच्न आफूहरू केन्द्रित रहेको मोरक्कोको भनाइ छ।

प्रकाशित: २७ मंसिर २०७९ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App