२७ मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’ हुने

भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा मंसिर २४ देखि २६ सम्म ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने भएको छ । ‘विश्व शान्ति कार्यक्रम’ ले आयोजना गर्न लागेको यो तेस्रो संस्करण हो ।

मंगलबार पत्रकार सम्मेलन गर्दै यस वर्षको कार्यक्रममा विभिन्न देशका २५ जना अर्बपति सहभागी हुन लागेकाले यो विशेष बनेको कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाले जानकारी दिइन् । उनका अनुसार यसअघिका संस्करणमा यति धेरै अर्बपतिहरूको सहभागिता भएको थिएन ।

कार्यक्रममा अन्तर्राष्ट्रिय जगत्का महत्वपूर्ण व्यक्तिहरूको सहभागिता रहने छ । भारतको केरलास्थित सिगल इन्टरनेसनल ग्रुपका अध्यक्ष डा. सुरेशकुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसद्का पूर्वसदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेन, युएई र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डा. सिद्दिक अहमदका साथै लुम्बिनी चिनियाँ व्यापारी प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता हुने छ ।

संयोजक खतिवडाले कार्यक्रममा १० हजारभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको जानकारी दिइन् । यसमा नेपाल तथा विदेशका नेता, विद्वान्, संयुक्त राष्ट्रसंघका सांस्कृतिक राजदूत, अन्तर्राष्ट्रिय व्यापारमा नाम कमाएका व्यवसायी, कलाकार, युवा र सामुदायिक प्रतिनिधि समावेश हुनेछन् ।

तीन दिनसम्म चल्ने कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय, व्यावहारिक शान्ति निर्माण, दैनिक नेतृत्व र स्थानीय शासनमा केन्द्रित युवा, महिला, आदिवासी समुदाय र सीमान्तकृत आवाजलाई थप शान्तिपूर्ण र समृद्ध भविष्यका लागि आदि विषयमाथि छलफल तथा बहस हुने कार्यक्रम संयोजक शेखर गौतमले बताए । कार्यक्रममा सांस्कृतिक प्रदर्शनी, संगीत र कलात्मक अभिव्यक्तिका सत्र पनि हुनेछन् ।

 

प्रकाशित: १६ मंसिर २०८२ २०:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App