३२ असार २०८३ बिहीबार
image/svg+xml
समाज

वित्तीय साक्षरताले बदलिँदै चितवनका महिला

विदेशी रोजगारीले छाडेको खालीपनबाट उद्यमसम्म

वैदेशिक रोजगारीका कारण श्रीमान् विदेशिएपछि घर सम्हाल्दै आएका चितवनका धेरै महिलाले अहिले उद्यमशीलताको बाटो रोज्न थालेका छन्। भरतपुर महानगरपालिकाले सञ्चालन गरेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गतको वित्तीय साक्षरता तालिमले उनीहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरेको छ।

भरतपुर महानगरपालिका–२३, जगतपुरकी ३१ वर्षीया आशा कँडेल यसको एउटा उदाहरण हुन्। तीन वर्षसम्म शिक्षण पेशामा आबद्ध रहेकी उनी पेशा छाडेपछि घरमै खाली बस्दै आएकी थिइन्। समय सदुपयोग गर्ने र आफ्नै व्यवसाय सुरु गर्ने सोचमा रहेकै बेला उनले सामी कार्यक्रममार्फत २१ हप्ते वित्तीय साक्षरता तालिम लिने अवसर पाइन्। यही तालिमले उनलाई बेकरी व्यवसायतर्फ आकर्षित गरायो।

‘पटिहानीको एउटा मन्टेश्वरीमा तीन वर्ष पढाएँ। त्यसपछि आफ्नै व्यवसाय गर्ने सोचले घरमै बसेकी थिएँ। त्यही बेला वित्तीय साक्षरता तालिममा सहभागी हुने अवसर मिल्यो,’ कँडेलले भनिन्, ‘तालिमले बेकरीसम्बन्धी सीप सिक्न प्रेरित गर्यो। अहिले आफ्नै व्यवसाय सञ्चालन गरिरहेकी छु।’

उनका श्रीमान् सात वर्षदेखि दुबईमा कार्यरत छन्। श्रीमान्को आम्दानीमा निर्भर रहनु नपरोस् भन्ने उद्देश्यले उनले करिब ६ लाख रुपैयाँ लगानी गरेर बेकरी सञ्चालन सुरु गरिन्। अहिले दैनिक करिब ७ हजार रुपैयाँ बराबरको कारोबार हुने गरेको उनी बताउँछिन्।

‘सुरुवात भएकाले पनि होला, व्यापार राम्रो भइरहेको छ। समयको सदुपयोग पनि भएको छ, घरखर्चमा पनि सहयोग पुगेको छ,’ उनले भनिन्।

उनको परिवारमा सासु–ससुरा र एक छोरी छन्। व्यवसायसँगै घरपरिवारको जिम्मेवारी पनि उनले नै सम्हाल्दै आएकी छन्।

जगतपुरकै सपना गैरेको कथा पनि संघर्ष र सफलताको मिश्रण हो। पटक–पटक व्यवसायमा असफलता भोगेकी गैरेलाई वित्तीय साक्षरता तालिमले फेरि आत्मविश्वास दिलायो। अहिले उनी व्यावसायिक रूपमा गाईपालन र हाँसपालन गर्दै आएकी छन्। उनका गोठमा ११ वटा गाई छन् भने खोरमा करिब ६० वटा हाँस छन्।

गैरेका श्रीमान् २०५९ सालमा वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए। पाँच वर्षपछि फर्किएर पुनः दुबई गए र दुई वर्षपछि स्वदेश फर्किए। वैदेशिक रोजगारीबाट कमाएको रकमले जगतपुरमा घडेरी किनेर परिवारले नेपालमै केही गर्ने निर्णय गर्यो।

२०७३ सालतिर १८ लाख रुपैयाँ लगानी गरेर म्याजिक गाडी खरिद गरे पनि व्यवसाय सफल हुन सकेन। त्यसपछि गाईपालन, तरकारी खेती र माछापालनजस्ता विभिन्न व्यवसायमा हात हाले। तर कहिले बजार मूल्य नपाउनु, कहिले प्राकृतिक विपद्का कारण लगानी डुब्नुजस्ता समस्याले उनीहरू निराश बने।

‘यहाँ आएर नगरेको व्यवसाय सायदै बाँकी होला। म्याजिक चलायौँ, गाईपालन गर्यौँ, तरकारी खेती गर्यौँ, माछापालन पनि गर्यौँ,’ गैरेले भनिन्, ‘टमाटरको एक क्रेट दुई सय रुपैयाँमा पनि बिक्री भएन। माछापालन गर्दा बाढीले पोखरी भत्काएर सबै माछा बगायो।’

पछि सामी कार्यक्रमको २१ हप्ते वित्तीय साक्षरता तालिम लिएपछि भने उनले फेरि व्यवसाय विस्तार गर्ने आत्मविश्वास पाइन्।

‘तालिम सुरु गरेको दुई हप्तामै दुई वटा हाँस किनेर पालन सुरु गरेँ। विस्तारै भाले र पोथी थप्दै गएँ। अहिले हाँसको संख्या ५५ भन्दा बढी पुगेको छ। गाई पनि थपेकी छु,’ उनले भनिन्।

तालिममा सिकेका सबै कुरा व्यवहारमा उतार्न अझै बाँकी रहे पनि पहिले गर्न नसकेका धेरै काम अहिले गर्न सफल भएको उनको अनुभव छ। अहिले उनले प्रत्येक महिना हाँस बिक्री गर्ने गरेकी छन् भने गाईपालन व्यवसाय पनि विस्तार गर्दै लगेकी छन्। यही व्यवसायबाट उनले आफ्ना तीन सन्तानलाई कलेजसम्म अध्ययन गराउन सफल भएकी छन्।

भरतपुर महानगरपालिकामा हालसम्म ५४० जनाले वित्तीय साक्षरता तालिम प्राप्त गरिसकेका छन्। सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेलका अनुसार कार्यक्रम सञ्चालनको पहिलो चार वर्षमा हरेक वर्ष चार समूहलाई तालिम दिइन्थ्यो भने पछिल्ला दुई वर्षदेखि दुई समूहलाई मात्र तालिम सञ्चालन भइरहेको छ।

उनका अनुसार वित्तीय साक्षरता कार्यक्रमले वैदेशिक रोजगारीबाट प्रभावित परिवार, विशेषगरी महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न, उद्यम सुरु गर्न र आयआर्जनका नयाँ अवसर सिर्जना गर्न उल्लेखनीय योगदान पुर्‍याएको छ।

प्रकाशित: २२ असार २०८३ १९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App