राष्ट्रिय सभा बैठकमा सांसदहरूमाथि आक्रामक टिप्पणी गरेपछि गृहमन्त्री सुधन गुरुङले रोस्ट्रमबाटै सार्वजनिक रूपमा माफी मागेका छन्।
बिहीबारको बैठकमा प्रश्नोत्तरका क्रममा सांसदहरूलाई ठाडो जवाफ दिएका गृहमन्त्री गुरुङले आफू युवा भएको र अग्रज सांसदहरूबाट अझै धेरै कुरा सिक्न बाँकी रहेको स्वीकार गरे।
रोस्ट्रममा उभिएर उनले भने, ‘मेरो तर्फबाट अलिकति ठाडो र रुखो बोली भयो जस्तो मलाई पनि लाग्यो। त्यसका लागि म क्षमाप्रार्थी छु र हजुरहरूसँग माफी माग्न चाहन्छु।’
बैठकमा मनसुनजन्य विपद् व्यवस्थापनबारे छलफल गर्ने कार्यसूची रहे पनि बहस निर्मला पन्त हत्याकाण्डतर्फ मोडिएपछि आफूबाट अलिकति रुखो अभिव्यक्ति निस्किएको प्रष्टीकरण गृहमन्त्रीले दिए।
संसद्मा निर्मला पन्त प्रकरणबारे प्रश्न नउठाउन आग्रह गर्नुको कारण खुलाउँदै उनले भने, ‘अनुसन्धानका कतिपय गोपनीय विषय संसद्मा छलफल गर्दा बाहिर रहेका अपराधीहरू सचेत हुने र उम्किने खतरा हुन्छ। त्यसैले अनुसन्धान प्रक्रियालाई गोप्य राखेर परिणाम निकाल्नु नै हाम्रो मुख्य प्राथमिकता हो।’
गृहमन्त्री गुरुङले संसद्को मर्यादा र जनप्रतिनिधिको आशा-अपेक्षाप्रति आफ्नो उच्च सम्मान रहेको बताउँदै अनुसन्धानलाई निष्कर्षमा पुर्याएर नतिजा दिने प्रतिबद्धता समेत व्यक्त गरे।
यो पनि पढ्नुहोस्
रोस्ट्रममा उभिएर गृहमन्त्रीले भने- निर्मला प्रकरणबारे प्रश्न नसोध्नु, म उत्तर दिन चाहँदिनप्रकाशित: २१ श्रावण २०८३ १५:१६ बिहीबार

