२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अपराध

तीन महिनामा ३ हजार बढी लागूऔषध कारोबारी पक्राउ, सबैभन्दा धेरै कोशीमा

नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा देशभर लागूऔषध कारोबारविरुद्ध सञ्चालन गरेको अभियानमा ३ हजार ३ सय १६ जना पक्राउ परेका छन्।

वैशाख १ गतेदेखि असार मसान्तसम्मको अवधिमा भएको कारबाहीअनुसार सबैभन्दा धेरै पक्राउ कोशी प्रदेशमा भएका छन् भने त्यसपछि लुम्बिनी प्रदेश र काठमाडौं उपत्यका छन्।

प्रहरी मुख्यालयका अनुसार उक्त अवधिमा कोशी प्रदेशबाट ७ सय १३ जना पक्राउ परेका छन्। लुम्बिनी प्रदेश र काठमाडौं उपत्यकामा समान ५ सय ११÷५ सय ११ जना पक्राउ परेका छन्।

त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट ४ सय ५७, बागमती प्रदेशबाट ४ सय २८, मधेश प्रदेशबाट २ सय ५५, गण्डकी प्रदेशबाट १ सय ८९, लागूऔषध नियन्त्रण ब्युरोबाट १ सय ३१ तथा कर्णाली प्रदेशबाट १ सय २१ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कारबाहीका क्रममा ठूलो परिमाणमा विभिन्न प्रकारका लागूऔषधसमेत बरामद गरिएको छ। प्रहरीले ८ हजार ६ सय ३२ किलोभन्दा बढी गाँजा, ३१ किलोभन्दा बढी चरेस, करिब ६ किलो कोकिन, झन्डै १२ किलो हेरोइन, १ सय २७ किलोभन्दा बढी अफिम र २१ किलोभन्दा बढी पोलेन बरामद गरेको छ।

त्यसैगरी ९ लाख ७६ हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेट, १९ हजारभन्दा बढी नाइट्राभेट, ३३ हजारभन्दा बढी स्पास्मो ट्याब्लेट, ९ हजार ५ सयभन्दा बढी डाईजेपाम, १६ हजार ६ सयभन्दा बढी फेनारगन तथा ८ हजारभन्दा बढी बुप्रेनोर्फिन एम्पुलसमेत जफत गरिएको छ।

नेपाल प्रहरीले लागूऔषध उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर देशभर विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत विद्यालय, टोल तथा स्थानीय तहसँग सहकार्य गर्दै लागूऔषधको दुष्प्रभावबारे जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्।

कोशी प्रदेशमा सबैभन्दा धेरै पक्राउ पर्नुको कारण खुला सीमा, भारतीय बजारसँगको सहज पहुँच, गाँजा उत्पादन हुने भौगोलिक क्षेत्र र सक्रिय प्रहरी निगरानी रहेको प्रदेश प्रहरी कार्यालयको विश्लेषण छ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र सिंह थापाका अनुसार झापा र मोरङ भारतीय सीमासँग प्रत्यक्ष जोडिएका भएकाले लागूऔषधको आवतजावत बढी हुने गरेको छ।

उनका अनुसार धनकुटा, उदयपुरलगायत पहाडी जिल्लामा गाँजाको अवैध खेती हुने गरेको छ भने त्यहाँबाट भारततर्फ तस्करी हुने क्रम पनि देखिएको छ।

थापाले सानो परिमाणमा लागूऔषध लुकाएर सीमा पार गरिने भएकाले त्यसको पहिचान चुनौतीपूर्ण हुने बताए। उनले प्रदेशको जनसंख्या ठूलो भएकाले उपभोक्ता र कारोबारी दुवैको संख्या तुलनात्मकरूपमा बढी देखिने उल्लेख गर्दै प्रहरीको निरन्तर निगरानी र सूचनामा आधारित कारबाहीका कारण पक्राउ संख्या पनि बढेको स्पष्ट पारे।

नेपालका २७ जिल्ला भारतसँग सीमा जोडिएका छन् भने उत्तराखण्ड, उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र सिक्किम राज्यसँग खुला सीमा रहेकाले सीमावर्ती क्षेत्रमा लागूऔषध नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको सुरक्षा अधिकारीहरूको भनाइ छ।

नेपालको करिब १७ दशमलव ६ प्रतिशत भूभाग ओगटेको कोशी प्रदेशको भौगोलिक विस्तार र सीमावर्ती अवस्थाले पनि लागूऔषध नियन्त्रणमा थप जटिलता सिर्जना गरेको देखिन्छ।

लुम्बिनी प्रदेश प्रहरीले भने पक्राउको संख्या बढ्नु अपराध बढेको संकेत मात्र नभई नियन्त्रणका लागि अपनाइएको आक्रामक रणनीतिको परिणाम भएको दाबी गरेको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता शारदाप्रसाद चौधरीका अनुसार प्रदेशभर विशेष निगरानी अभियान सञ्चालन गरिएको छ।

सीमावर्ती नाकामा कडाइ, गोप्य सूचनाका आधारमा छापा, सादा पोसाकमा प्रहरी परिचालन तथा जोखिमयुक्त क्षेत्रको पहिचान गरी निगरानी बढाइएको उनले बताए।

उनका अनुसार तुलसीपुरलगायत स्थानमा टोलस्तरमा सचेतनामूलक समूह गठन गरी समुदायलाई नै शंकास्पद गतिविधिबारे प्रहरीलाई जानकारी गराउन प्रोत्साहित गरिएको छ।

विद्यालय सम्पर्क कार्यक्रममार्फत विद्यार्थीमा लागूऔषधविरुद्ध सचेतना फैलाउने, खेती हुन सक्ने क्षेत्रमा नियमित अनुगमन गर्ने तथा भारततर्फबाट हुने आपूर्ति र खपत हुने सम्भावित स्थानमा विशेष निगरानी बढाउने काम भइरहेको उनले जानकारी दिए।

प्रहरीले लागूऔषध नियन्त्रणका लागि सीमापार समन्वय, स्थानीय समुदायको सहभागिता र सूचनामा आधारित कारबाहीलाई अझ प्रभावकारी बनाउने रणनीतिमा जोड दिएको जनाएको छ।

सुरक्षा अधिकारीहरूका अनुसार खुला सीमाको दुरुपयोग रोक्न र नयाँ पुस्तालाई लागूऔषधको जोखिमबाट जोगाउन कानुनी कारबाहीसँगै जनचेतना अभियानलाई पनि समान प्राथमिकता दिइएको छ।

प्रकाशित: २० श्रावण २०८३ १६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App