२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
शिक्षा

विदेशी उपाधिको समकक्षता सेवा अब यूजीसीमार्फत, अनलाइनबाटै आवेदन र प्रमाणपत्र

विदेशी विश्वविद्यालय तथा उच्चशैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता (इक्विभलेन्सी) प्रदान गर्ने सेवा अब विश्वविद्यालय अनुदान आयोग (यूजीसी) मार्फत सञ्चालनमा आएको छ। यसअघि त्रिभुवन विश्वविद्यालयले दिँदै आएको यो सेवा २०८३ साउन १ गतेदेखि कानुनी व्यवस्थाअनुसार आयोगमा हस्तान्तरण भएको हो।

समकक्षता सेवालाई प्रविधिमैत्री बनाउन आयोगले साउन ६ गतेदेखि अनलाइन आवेदन प्रणाली सञ्चालनमा ल्याएको छ। नयाँ अनलाइन प्रणालीमा हालसम्म ३ हजार १६२ जना प्रयोगकर्ता दर्ता भइसकेका छन् भने करिब १ हजार आवेदनको प्रक्रिया अघि बढिसकेको छ।

विद्यार्थीले आयोगको आधिकारिक अनलाइन पोर्टलमार्फत जुनसुकै स्थानबाट समकक्षताका लागि आवेदन दिन, साउन २० गतेदेखि सुरु भएको व्यवस्था अनुसार शुल्क भुक्तानी गर्न र डिजिटल प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्। अनलाइन आवेदनहरूको आन्तरिक प्रमाणीकरण (भेरिफिकेसन) पूरा भएपछि प्रमाणपत्र उपलब्ध गराइने आयोगले जनाएको छ।

आयोगले समकक्षता सेवा सम्बन्धी नयाँ नियमावली तयार गरी स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पठाइसकेको छ। उक्त नियमावली हाल अर्थ मन्त्रालयबाट राय-परामर्श लिने प्रक्रियामा रहेको र स्वीकृतिको अन्तिम चरणमा पुगेको छ।

नियमावली पूर्ण रूपमा स्वीकृत नभइसके पनि सेवा अवरुद्ध हुन नदिन साउन १५ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार हाललाई त्रिभुवन विश्वविद्यालयकै कार्यप्रक्रिया, आधार र मापदण्ड अपनाएर त्रिविकै सहकार्यमा सेवा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ।

आयोगले नयाँ डिजिटल प्रणालीबाट समकक्षता सेवा थप छिटो, सहज र पारदर्शी हुने विश्वास लिएको छ।

प्रकाशित: २१ श्रावण २०८३ १५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App