२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

जय नेपाल पार्टीको बटमलाइन हिन्दु अधिराज्य: अध्यक्ष जबरा

जय नेपाल पार्टीका अध्यक्ष डा.धवलशमशेर जबराले सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र अभिभावकीय भूमिकासहितको संवैधानिक राजसंस्थाको पुनर्स्थापना गर्ने बताएका छन् ।  

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै जबराले नेपाल विविध जाति, जनजाति, भाषा र धर्मावलम्बीहरूको साझा देश भएकाले सबैलाई समेट्ने राजसंस्था आवश्यक रहेको दाबी गरे ।  

उनले भने, ‘नेपाल विविधतामा एकता भएको देश हो । सबै जाति, जनजाति, धर्मवली सबैले राजसंस्थालाई मान्दै आएको परम्परा छ । राजसंस्था पाखा लगाउँदा देशको गति वा हालत के भयो भन्ने कुरा भन्नुपर्ने यहाँ छैन । त्यसकारण एउटा मियोको रुपमा वा एउटा अभिभावकको रुपमा राजसंस्थालाई पुनर्स्थापना गर्ने योजना हाम्रो छ ।’  

राजसंस्था हटेपछि मुलुक राजनीतिक अस्थिरता र अव्यवस्थातर्फ गएको उनले बताए ।  

उनले भने, ‘देश सबैको हो । हरेक देशको वा एउटा राष्ट्रको एउटा धर्म हुन्छ । क्रिश्चियनहरुको सयौँ वटा देश छन् । मुस्लिमहरुको ४७ वटा देश छन् । बुद्धिष्टहरुको ११ वटा देश छन् । विश्वमा एक अर्ब ५० करोड भन्दा बढी हिन्दुहरु छन् । त्यसमध्ये एकमात्र हिन्दु राज्य थियो त्यो नेताहरुले सिध्याइदिए ।’  

उनले विश्वका विभिन्न देशहरूको धार्मिक पहिचान भएको उल्लेख गर्दै नेपाललाई पुनः हिन्दु राष्ट्रका रूपमा स्थापित गर्नुपर्ने बताए ।  

उनले देशको समृद्धिलाई पार्टीको अर्को प्रमुख प्राथमिकता बनाइएको जानकारी दिए । 

प्रकाशित: २१ श्रावण २०८३ १५:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App