२४ मंसिर २०८२ बुधबार
image/svg+xml
समाज

झापामा शल्यक्रियाबाट बच्चा जन्माउने महिला बढे

झापा जिल्लामा धेरैजसो महिला शल्यक्रियाबाट बच्चा जन्माउँछन्। पछिल्लो एक वर्षमा करिब ६९ प्रतिशत महिलाले शल्यक्रियाबाट बच्चा जन्माएको जिल्ला स्वास्थ्य कार्यालयकी नर्सिङ अधिकृत विद्या न्यौपानेले जानकारी दिइन्।

आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा १३ हजार १३८ जनाले बच्चा जन्माए, जसमध्ये ६८.७ प्रतिशतले शल्यक्रियाबाट बच्चा जन्माएको उनले बताइन्। आव २०८०/८१ मा ७०.५ प्रतिशतले शल्यक्रियाबाट बच्चा जन्माएको कार्यालयको तथ्यांक छ।

चिकित्सकका अनुसार स्वास्थ्यमा जटिलता नआएसम्म शल्यक्रियाबाट बच्चा जन्माउनु राम्रो हुँदैन। तर, पछिल्लो समय शल्यक्रियाबाट बच्चा जन्माउने संख्या बढ्दो छ। प्रसव पीडा सहन नसक्नु/नचाहनु, जीवनशैली, ढिलो विवाहलगायत कारणले शल्यक्रियाबाट बच्चा जन्माउने संख्या बढेको न्यौपानेको भनाइ छ। 'निजी अस्पतालमा शल्यक्रियाबाट धेरै बच्चा जन्मने गरेको छ,' उनले भनिन्, 'सरकारी अस्पतालमा यो अलि कम छ।'

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार बच्चा जन्माउने कुल संख्याको १० देखि १५ प्रतिशत शल्यक्रियाबाट हुनु सामान्य मानिन्छ। नर्सिङ अधिकृत न्यौपानेले भनिन्, 'अहिले महिलाले आफ्नै इच्छाले शल्यक्रियाबाट बच्चा जन्माउन चाहन्छन्।'

'नर्मल डेलिभरी' बाट जन्मिएको बच्चा चाँडै बाहिरी वातावरणमा घुलमिल हुने न्यौपानेले बताइन्। 'शल्यक्रियाबाट निकालिएको बच्चालाई वातावरणमा घुलमिल हुन समय लाग्छ,' उनले भनिन्, 'शल्यक्रियाबाट जन्मिएको बच्चालाई श्वासप्रश्वासमा समस्या हुँदा एनआइसीयूमा राख्नुपर्ने अवस्था आउने गरेको छ।' रासस

प्रकाशित: २७ श्रावण २०८२ १०:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App