१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

जेनजी आन्दोलनअघि के थियो?

जेनजी पुस्ताले सुरु गरेको ‘नेपो बेबी’अभियान सामाजिक सञ्जाल हुँदै सडकमा पुगेर आन्दोलनमा परिणत भएपछि एक प्रकारले नेतृत्वविहीन देखिएको थियो।

२३ भदौको बिहान ९ बजे माइतीघरबाट सुरु भएको आन्दोलनले २७ घण्टामा संघीय संसद् भवन, देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, राष्ट्रपति निवास, प्रधानमन्त्री निवासदेखि सर्वोच्च अदालतसम्म खरानी बनाउँदा पनि कसले नेतृत्व गरेको भन्नेबारेमा भिडियोमा केही उल्लेख छैन।

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि अधिकांश राजनीतिज्ञहरूको घरमा आगजनी गरिएको थियो। आमनागरिक घरमा थुनिएपछि सडकमा सेना आएको थियो। यही नेपाली सेनाको समन्वयमा देशले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व सुम्पियो। कार्कीको नेतृत्वमा मुलुकमा नयाँ अध्याय सुरु भएको थियो।

सरकारले डेढ वर्षदेखि फेसबुक, ह्वाट्सएप, एक्स (पूर्व ट्विटर), युट्युबलगायत सामाजिक सञ्जाललाई नेपालमा दर्ता गरेर मात्रै सञ्चालन गर्न आग्रह गरिरहेको थियो। टिकटक र भाइबर दर्तामा आए तर अरु दर्ता भएनन्। पटकपटक आग्रह गर्दा पनि दर्ता हुन नआएपछि ९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले १२ भदौदेखि लागु हुने गरी एक साताभित्र अनिवार्य दर्ता गर्न निर्देशन दियो। दर्ता नभए प्रतिबन्ध लगाउने चेतावनी सरकारले दिएको थियो। त्यस अवधिमा कुनै पनि सामाजिक सञ्जालले दर्ताका लागि सम्पर्क गरेनन्। अन्ततः १९ भदौमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठायो। नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द भए।

भदौ २० मा जेनजीले टिकटकबाट ‘नेपो बेबी’ अभियान चलाए। यो अभियानअन्तर्गत जेनजीहरूले नेता, नेताका सन्तानको विलासी जीवनशैलीको विरोध गरेका थिए। भदौ २० मै उनीहरूले घोषणा गरे– २३ गते भ्रष्टाचार, बेथिति र नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शन गर्ने।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह त ‘जेनजी आन्दोलनको नेतृत्वकर्ता आफू नै हो’ भन्ने गरी प्रस्तुत भएका थिए। उनले आन्दोलनमा सहभागी हुन पटक–पटक आह्वान गरेका थिए। ‘यो आन्दोलन बालेन्द्रको हो’ भन्ने गरी चर्चा भयो। यो आन्दोलनमा कलाकर्मी र विभिन्न तहका कलाकार पनि सहभागी भएका थिए।

 

यो पनि पढ्नुहोस्

भाँडभैलो मच्चाउन बिबिसीको छनोटपूर्ण डकुमेन्ट्री

 

प्रकाशित: १६ फाल्गुन २०८२ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App