अघिल्लो सातामात्रै रौतहटको कमान्ड सम्हालेका प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले प्रतिनिधिसभा निर्वाचन सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रतिवद्वता जनाएका छन् ।
बुधबार जिल्ला प्रहरी कार्यालय रौतहटले आयोजना गरेको परिचयात्मक तथा भेटघाट कार्यक्रममा एसपी रिजालले शान्तिपूर्ण भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै शक्ति लगाउने प्रतिबद्धता जनाए ।
प्रहरी इमान्दार र व्यवसायिक भएर जनताको अपेक्षा अनुसार काम गरिरहेको बताउदै उनले बिगतको निर्वाचनमा बाकस बोकेर भागेको स्थानमा विशेष निगरानी तथा निर्वाचन सुरक्षाप्रति उच्च सतर्कता अपनाइने बताए। जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार प्रयोग हुन सक्ने आशंका रहेकाले आगामी निर्वाचन चुनौतीपूर्ण रहेको उनको तर्क थियो ।
“प्रहरी सुते अपराध बढ्छ, प्रहरी जागे अपराध घट्छ,” भन्दै उनले अपराध नियन्त्रणका लागि जाहेरीका आधारमा जघन्य अपराधीलाई हिरासतमा राखेर कारबाही गर्ने दाबी गरे।
चुनावविरोधी गतिविधि रोक्न जुनसुकै सुरक्षाका उपाय अपनाइने बताउँदै एसपी रिजालले होली पर्वलाई समेत निर्वाचन सुरक्षाको दृष्टिकोणबाट संवेदनशील भएर सुरक्षा प्रतिवद्वता जनाउने बताए ।
प्रकाशित: २१ माघ २०८२ १८:२० बुधबार





