१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

विषम परिस्थितिमा हुन लागेको निर्वाचनमा आफ्नो विवेक प्रयोग गर्नुस् : उपेन्द्र यादव

बाँकेको कम्दीस्थित मिलन चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव। तस्बिरः नागरिक

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विषम परिस्थितिमा हुन लागेको निर्वाचनमा जनताले आफ्नो विवेक प्रयोग गर्नुपर्ने बताएका छन्।

जसपा बाँकेले मंगलबार जिल्लाको कम्दीस्थित मिलन चोकमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘यो कुनै सहज अवस्थामा हुन लागेको चुनाव होइन, विषम परिस्थितिमा चुनाव हुँदैछ, यस्तो अवस्थामा जनताले आफ्नो सही विवेक प्रयोग गर्न जरुरी छ।’

जनताले पाँच वर्षका लागि सांसदहरूलाई निर्वाचित गराएर पठाए पनि तीन वर्षमै संसद भंग भएर पुनःनिर्वाचन हुन लागेको उनले बताए। जेनजी आन्दोलनपछि संसद भंग भएर पुनःनिर्वाचन हुन लागेकाले मतदानमा आफ्नो सही विवेक पुर्याउनुपर्ने उनको भनाइ छ।  

मुलुकमा लामो समय नेपाली कांग्रेस, नेकपा एमालेले सरकार चलाएको र उनीहरूकै कारण विद्यमान समस्या देशमा उत्पन्न भएको उनको आरोप छ। पछिल्लो ३५ वर्षमा ३० पटक सरकार फेरिएको भन्दै ठूला दलहरूका कारण राजनीतिक अस्थिरता उत्पन्न हुँदा युवापुस्ता रिसाएको उनको भनाइ छ। जेनजी आन्दोलन भ्रष्टचार र कुशासनविरुद्धको विद्रोह भएको अध्यक्ष यादवको बुझाइ छ।

चुनावी सभालाई सम्बोधन गर्दै जसपा नेतृ एवं लुम्बिनी प्रदेश सभाकी सांसद अम्बिका काफ्लेले वैचारिक सिद्धान्त भएको पार्टी नै जसपा नेपाल मात्रै भएको दाबी गरिन्। जसपा नेपालबाट चुनाव जित्ने र त्यसकै बलमा अहिले अरू पार्टीमा गएर चुनाव लड्नेहरूले धम्की दिने गरेको आरोप लगाइन्।

कार्यक्रममा अध्यक्ष यादवले विभिन्न पार्टी परित्याग गरेकालाई जसपा नेपालमा स्वागत गरेका थिए।

प्रकाशित: १२ फाल्गुन २०८२ २०:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App