राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध निर्माण लगायतका संरचना निर्माणका लागि पुनः ठेक्का सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ। सुनकोसी नदीमा बाँध र विद्युत् गृह निर्माणका लागि यसअघि पटेल–रमण जेभी ले निर्माणको जिम्मा पाएको भए पनि ठेकेदार कम्पनीको लापरबाहीले काम अगाडि नबढेको भन्दै सरकारले ठेक्का सम्झौता रद्द गरेको थियो।
ठेक्का सम्झौता गरेको निर्माण व्यवसायी पटेल–रमण जेभीले अपेक्षा गरेअनुसारको प्रगति दिन नसकेपछि सरकारले कात्तिकको अन्तिम साता उक्त कम्पनीसँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको थियो। ठेक्का पूर्ण रूपमा तोडिएसँगै नयाँ ठेक्काको तयारी भएको हो। नयाँ लागत अनुमान र पुरानो कामको मूल्याङ्कन गरेर नयाँ ठेक्काको तयारी अन्तिम चरणमा पुगेको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अशोक गौतमले बताए। उनका अनुसार अबको केही सातामै नयाँ ठेक्का खुल्ने र काम अगाडि बढ्नेछ।
तत्कालीन निर्माण व्यवसायी पटेल–रमण जेभीले सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिंचाइ विभाग ले कात्तिक २४ गते सूचना जारी गरी उक्त सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको आयोजनाले जनाएको थियो। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर गौतमका अनुसार सम्झौता भएको करिब ६१ प्रतिशत समय बित्दा भौतिक प्रगति करिब १० प्रतिशत मात्रै भएपछि उक्त जेभीसँगको ठेक्का सम्झौता विभागले तोडेको हो।
उक्त कम्पनीले हालसम्म गरेको कामको मूल्याङ्कन गर्ने कार्य सकिएको आयोजनाले जनाएको छ। नयाँ दररेट अध्यावधिक गर्दै नयाँ लागत अनुमान बनाउने काम भइसकेकाले अबको केही सातामै नयाँ ठेक्का खुल्ने उनले नागरिकसँग बताए। सरकारले पटेल–रमण जेभीसँगको ठेक्का सम्झौता तोडिएसँगै कार्य सम्पादनका लागि राखिएको बैंक ग्यारेन्टी दुई अर्ब ४० करोड र अग्रिम भुक्तानीको एक अर्ब २० करोड रुपैयाँ समेत जफत गरिसकेको छ।
आर्थिक वर्ष ०७७/०७८ बाट सुरु भएको उक्त आयोजनाको पूरा काम आर्थिक वर्ष ०८४/०८५ सम्ममा सक्ने लक्ष्य राखिएको थियो। आयोजनाअनुसार निर्माण व्यवसायी पटेल–रमण जेभीले २०७९ साल पुस महिनामा (सन् २०२३ जनवरी १) सम्झौता गरेर चार वर्ष सात महिनामा सक्ने गरी उक्त आयोजना अन्तर्गत सुनकोसी नदीमा बाँध निर्माण र कमलामाई नगरपालिका–२ कुसुमटारमा विद्युत् गृह निर्माण लगायतका संरचना निर्माणको काम सुरु गरेको थियो। बाँध निर्माणका लागि १४ अर्ब सात करोड ५९ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो।
उक्त जेभीले सुनकोसी नदीमा निर्माण गर्नुपर्ने ३० मिटर अग्लो र १५८ मिटर लम्बाइको बाँध निर्माण निकै सुस्त गरेको आयोजनाले जनाएको छ। आयोजना अन्तर्गत कुसुमटारबाट १३ दशमलव तीन किलोमिटर लम्बाइको सुरुङमार्ग एक वर्षअघिनै टनेल बोरिङ मेसिन (टीबीएम)बाट निर्माण भइसकेको छ। सुनकोसी नदीमा बाँध निर्माण भएपछि उक्त सुरुङबाट प्रतिसेकेन्ड ६७ क्युसेक पानी कुसुमटारस्थित मरिण खोलामा खसालिने छ। त्यहाँ ६६ दशमलव २९ मिटर हेडबाट पानी झारेर ३१ दशमलव ०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ।
प्रकाशित: १८ फाल्गुन २०८२ ०९:२२ सोमबार





