नेपाली कामदारको माग बढाउन जापानी श्रम बजार लक्षित दोस्रो ‘नेपाल–जापान रोजगार सम्मेलन’ टोकियोमा सुरु भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ दोस्रो जापान–नेपाल रोजगार सम्मेलनमा सहभागी हुन टोकियो पुगेको छ।
संघले वैदेशिक रोजगारीका लागि जापान जाने श्रमिकको माग पत्र प्रमाणीकरण सहज बनाउन जापानस्थित नेपाली राजदूतावासलाई प्रक्रिया सरल र छरितो बनाउन आग्रह समेत गरेको जनाएको छ।
संघका महासचिव महेशकुमार बस्नेतका अनुसार दोस्रो जापान–नेपाल रोजगार सम्मेलनमा सहभागी हुन टोकियो पुगेको टोलीले सोमबार कार्यवाहक राजदूत हरिहरकान्त पौडेलसँग भेट गरेको थियो। सम्मेलनको तयारीका साथै लामो समयदेखि समाधान नभएको माग पत्र प्रमाणीकरण ढिलाइका कारण, उत्पन्न समस्याबारे छलफल गरेका छौँ। सम्मेलनमा नेपालबाट ३७ एजेन्सीका ५७ प्रतिनिधि सहभागी भएका थिए।
महासचिव बस्नेतका अनुसार कार्यवाहक राजदूतले पनि नेपाली कामदारहरूको इमानदारीका कारण जापानमा उनीहरूको ठुलो सम्भावना रहेको बताएका थिए। प्रतिनिधिहरूले व्यवसायी र श्रमिकका समस्याहरू पनि सरकारको ध्यानाकर्षण गराएका छन्। विशेष गरी ‘डिमान्ड लेटर’ प्रमाणीकरण प्रक्रियालाई अनलाइन प्रविधिमार्फत छिटो र सहज बनाउनुपर्ने माग उठाइएको उनले बताए।
‘जापानमा नेपालीको सङ्ख्या हाल ३ लाख नजिक पुगेको छ, तर सरकारी कर्मचारीको दरबन्दी तीन जना मात्रै छ। यसले सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको छ,’ महासचिव बस्नेतले भने, ‘भोलि सम्मेलनमा जापानका न्याय मन्त्री अतिथिको रूपमा उपस्थित हुने कार्यक्रम छ।’
उक्त अवसरमा सङ्घको तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको उनले बताए। सम्मेलनमा करिब १ हजार जापानी रोजगारदाता र एजेन्सी सहभागी हुने अपेक्षा गरिएको छ। ३७ वटा नेपाली एजेन्सीहरूले स्टल राखेर आफ्नो व्यवसाय प्रवर्द्धन गर्ने संघका महासचिव बस्नेतले जानकार गराए।
सम्मेलनपछि जापानमा नेपाली कामदारको माग अझ बढ्ने विश्वास बस्नेतले व्यक्त गरे।
प्रकाशित: १२ फाल्गुन २०८२ २०:२२ मंगलबार





