१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

रुपन्देहीमा मतदाता नामावली दर्ता जारी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लागेको छ। नाम दर्ता गराउनेमा अधिकांश युवापुस्ता छन्।

जिल्ला निर्वाचन कार्यालयमा यही कात्तिक १९ गतेसम्ममा चार हजार २८८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले जानकारी दिए। यसमध्ये दुई हजार ५८४ पुरुष र एक हजार ७०४ महिला छन्। नयाँ दर्ता गर्नेमध्ये युवापुस्ता धेरै रहेको उनले बताए।

उनका अनुसार नाम दर्ता गराउन आउनेमा करिब ८० देखि ९० प्रतिशत युवायुवती छन्। 'जिल्ला निर्वाचन कार्यालयले गर्ने नियमित काममध्ये मतदाता नामावली दर्ता र अद्यावधिक हो। नियमित रूपमा दैनिक ३० जना आउनुहुन्थ्यो। तर निर्वाचनको माहोलले धेरै जना दर्ता गर्न आउनुभएको देखिन्छ, उत्साह छ। अहिले दैनिक दुई सय जना हाराहारीमा नयाँ नामावली दर्ता भइरहेको छ,' उनले भने। निर्वाचनको मिति नजिकिँदै जाँदा नयाँ नामावली दर्ता गर्नेको भीड रहेको उनको भनाइ छ।

जिल्लामा असोज १० गतेदेखि मतदाता नामावली नयाँ दर्ता र अद्यावधिक कार्य सुरु भएको उनले जानकारी दिए। यहाँ दर्ता गर्न आउने रुपन्देही जिल्ला बाहिरका पनि छन्। 'हामीले यहाँ दर्ता गरेको सबै रुपन्देहीका मात्र मतदाता हुनुहुन्छ भन्ने हुँदैन। बाहिरी जिल्लाका पनि रुपन्देहीबाट दर्ता गर्न मिल्छ। बाहिरी जिल्लाबाट रुपन्देहीको हकमा कति दर्ता गर्नुभएको छ। त्यसैगरी अद्यावधिकबाट (ठाउँसारी) गरेर कति आउनुहुन्छ, त्यसमा चाहिँ निर्भर रहन्छ,' उनले भने।

जिल्लामा २०८२ साल कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुगेका छ लाख ४४ हजार ३५६ मतदाता  छन्। जसमध्ये तीन लाख ३० हजार ७४१ पुरुष र तीन लाख १३ हजार ६०७ जना महिला रहेको कार्यालयले जनाएको छ। निर्वाचन आयोगका अनुसार २०८२ कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक (त्रुटि सच्याउने र ठाउँसारी) गर्न सकिन्छ। यसअघि मतदाता नामावलीमा नाम दर्ता भइसकेको भए पुनः दर्ता गर्नुपर्दैन। रासस

प्रकाशित: २३ कार्तिक २०८२ ०८:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App