१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

फूल खेतीमा रमाइरहेकी विष्णु

बाँकेका महिला पुष्पखेती गर्न उत्साहित देखिएका छन् । सीमित महिला किसानले मात्रै हात हालेको पुष्पखेतीबाट जीविकोपार्जनको आधार निर्माण हुँदै गएपछि अन्य महिला पनि उत्साहित हुँदै यसतर्फ आकर्षित हुन थालेका छन् ।  

बाँकेको कोहलपुर नगरपालिका–३ स्थित सुविबी पुष्प उद्यान केन्द्रकी सञ्चालक विष्णु चौधरी पुष्पखेतीबाट आम्दानी हुन थालेपछि आफू पनि यसमा लागेको बताइन ।  

उनी आठ वर्षदेखि पुष्पखेतीमा रमाइरहेकी छन् । उनले ६० हजारमा जग्गा भाडामा लिइन र काम थालिन् । चौधरीका खेतमा हाल टेनिस बल र कर्मा ५५५ जातका सयपत्री प्रजातिअन्तर्गतका फूल छन् ।  

कोहलपुरमा रहेको उद्यानबाट यस वर्ष कम्तीमा पाँच क्विन्टल फूल उत्पादन हुने चौधरीले बताइन । यस विषय तिहारका लागि स्थानीयले राखेका बोटमा धेरै फूल नफुलेकाले माग बढी हुने भन्दै बाहिरबाट खरिद गरेर भए पूर्ति गर्ने योजना रहेको उनले सुनाइन । करिब १० क्विन्टल फूलको व्यापार हुने उनको अनुमान छ ।  

‘मेरो खेतमा पनि यस पटक राम्ररी फूलका बिरुवा उम्रेनन् । प्राविधिक ल्याएर काम गरेको थिए, तर ब्याडमा झार उम्रेपछि औषधि प्रयोग गर्दा धेरै बिरुवा मरे’, उनले भनिन् ।  

आफूले उत्पादन गरेको फूल दाङ, सुर्खेत, धनगढी, बुटवललगायत जिल्लामा बजारीकरण गरिएको जानकारी दिँदै चौधरीले पुष्पखेतीसँगै नर्सरी स्थापना गर्ने योजना रहेको पनि सुनाइन । नेपाल भारत सीमा क्षेत्रमा रहेकाले भारतबाट आयात हुने फूलका कारण प्रतिस्पर्धा गर्न भने समस्या हुने गरेको उनको गुनासो छ ।  

‘हामीले जेनतेन सीमति स्रोतसाधनका आधारमा फूलको उत्पादन गर्छौ, तर भारतबाट फूल आउँदा त्यसको प्रत्यक्ष मारमा पर्छौं’, चौधरीले भनिन् ।  

बाँकेमा अहिले फूल प्रतिकिलो ४०० रुपैयाँमा बिक्री भइरहेको छ । फ्लोरीकल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी विन्दु चर्तीमगरले  सीमापारिबाट आउने अवैध फूलमाला रोक्न नसक्दा स्थानीय उद्यमी मारमा परिरहेको बताइन । यसरी अवैध रूपमा आउने प्लास्टिकलगायत फूलमालाको स्थानीय प्रशासनबाट नियमन हुनुपर्ने उनको भनाइ छ ।  

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख विनोद घिमिरेले पुष्पखेती गर्ने किसान बाँकेमा सीमित सङ्ख्यामा रहेको उल्लेख गर्दै पुष्पखेतीका लागि सरकारले पनि सहजीकरण गरिरहेको बताए । गत वर्षको विवरणअनुसार  बाँकेमा १७ जना महिला किसान यस व्यवसायीक पुष्पखेतीमा संलग्न रहेको उनले बताए । रासस

प्रकाशित: २७ आश्विन २०८२ २१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App