१३ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

अक्सिजनको अभावले पानी ट्याङ्कीभित्र निसासिएर दुई जनाको मृत्यु

दाङको तुलसीपुर उपमहानगरपालिका ६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र निसासिएर दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका १५ का ३५ वर्षीय घनश्याम गिरी र ३६ वर्षीय कमल गिरी रहेका छन्। दुवै जना एउटै ठेगानाका हुन्। स्थानीयका अनुसार उनीहरूमध्ये एक जना ठेकेदार र अर्का श्रमिक थिए। 

घटनापछि प्रहरी टोली घटनास्थल पुगे पनि ट्याङ्कीभित्र अक्सिजनको मात्रा अत्यन्त कम भएका कारण तत्काल उद्धार गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ ।  उद्धारपछि तुलसीपुर अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी डा एम केसीका अनुसार प्रारम्भिक अनुसन्धानमा निर्माणाधीन अन्डरग्राउन्ड रिजर्भ ट्याङ्कीमा छतको ढलानका लागि राखिएको सपोर्ट निकाल्ने उक्त घटना भएको हो।  

‘अन्डरग्राउन्ड पानी ट्याङ्की निर्माण गरिएको थियो। छतको ढलानका लागि राखिएको सपोर्ट निकाल्न उनीहरू भित्र पसेका रहेछन्। ट्याङ्कीको माथिल्लो ढक्कन बन्द रहेकाले पर्याप्त अक्सिजन प्रवेश हुन पाएन। त्यही कारण भित्र अक्सिजनको मात्रा निकै कम भएको अवस्थामा दुवै जना निसासिएका हुन्,’ डीएसपी केसीले नागरिकसँग बताए। 

उनका अनुसार ट्याङ्कीको गहिराइबारे यकिन विवरण उपलब्ध भएको छैन। तर अक्सिजनको मात्रा न्यून हुनुबाट ट्याङ्की पर्याप्त गहिरो रहेको अनुमान गरिएको छ। 

प्रकाशित: ६ श्रावण २०८३ १३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App