२४ असार २०८३ बुधबार
image/svg+xml
समाज

ब्राउन सुगर र ४ लाख रुपैयाँसहित दुई जना पक्राउ

लागुऔषध ब्राउन सुगरको खरिद–बिक्रीमा संलग्न दुई जनालाई प्रहरीले मोरङ र सुनसरीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भारतीय र एक नेपाली नागरिक रहेका छन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मेकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाट क्षेत्रमा भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल राज्य, दक्षिण दिनाजपुर जिल्ला, गंगारामपुर थाना क्षेत्रका ३२ वर्षीय चञ्चल सिकदार रहेका छन्।

नेपाल प्रवेश गरेलगत्तै सिकदारमाथि शंका लागेपछि प्रहरीले चेकजाँच गरेको थियो। जाँचका क्रममा उनले बोकेको कालो प्लास्टिकको झोलाभित्र रहेका दुई वटा टिफिन बट्टामा लुकाएर ल्याइएको अवस्थामा २९ ग्राम ब्राउन सुगर फेला परेको डीएसपी मिश्रले जानकारी दिए।

लागुऔषधसहित पक्राउ परेका सिकदारलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानबाट उनी उक्त लागुऔषध बिक्री गर्न नेपाल आएको खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानकै क्रममा सिकदारबाट बरामद लागुऔषध खरिद गर्न आएका अर्का नेपाली युवकको जानकारी प्राप्त भएपछि प्रहरीले खोजी सुरु गरेको थियो। डीएसपी मिश्रका अनुसार भारतीय नागरिक पक्राउ परेको थाहा पाएपछि विराटनगरबाट भागेका ती युवकलाई सुनसरीको कोशी गाउँपालिका–८, भण्टाबारीबाट पक्राउ गरिएको हो।

पक्राउ पर्ने नेपाली युवक जुम्लाको चन्दननाथ नगरपालिका–८ का २५ वर्षीय तेज रावल रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार रावल जुम्लाबाट उक्त लागुऔषध खरिद गर्न आएका थिए।

प्रहरीले रावलको साथबाट ४ लाख ७१ हजार रुपैयाँ नगद र बागमती प्रदेश ०२–०२४ प ०१७७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। उनीहरूविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ असार २०८३ २०:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App