२९ असार २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘बाः एक योद्धा’ को पोस्टरमा खुसी र तनाव

भदौ १९ गतेबाट प्रदशर्नमा आउने चलचित्र ‘बाः एक योद्धा’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले आज दुई पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा सिनेमाका मुख्य कलाकार समेटिएका छन्।

पोस्टरले चलचित्र ‘बाः एक योद्धा’ पूर्ण पारिवारिक सिनेमा रहेको झल्काएको छ। पहिलो पोस्टरमा सपरिवार बसेर तस्बिर खिचाइरहेको जस्तो देखिएको छ। जसमा दिव्यदेव र झरना थापा बसिरहेका छन् भने बाँकी तीन सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मा पछाडि उभिएका छन्।

घरको आँगनमा तस्बिर खिचाइरहेका उनीहरू सबै हँसिलो चेहरामा छन्। भर्खरै रातो माटोले लिपपोत गरेर चिटिक्क पारिएको घरले दसैँको समयको संकेत गरिरहेको छ। साथमा कुकुर पनि छन्। यसले इमानदार परिवारको बिम्बको काम गरेको छ। तस्बिरमा देखिएका पात्र र उनीहरूको पहिरनले मध्यम वर्गीय परिवार रहेको अनुमान लगाउन सकिन्छ।

दोस्रो पोस्टरका पात्रको चेहरामा कौतुहल र तनाव छ। यो पोस्टरमा रहेका झरना थापा र सुहाना थापाको मुहारमा केही अचानक आएको अनपेक्षित घटनाले कौतुहल सिर्जना गरेको देखिन्छ। यो पोस्टरमा रहेका दिव्यदेव र अनिल बुढाथोकीको अनुहारमा रिस देखिन्छ।

यो पोस्टरमा रहेका अर्का पात्र हुन्, माओत्से गुरुङ। उनको अनुहारमा भने कुटिल मुस्कान देखिएको छ। यसले उनी खलपात्रका रूपमा त रहेका छैनन् भनेर शंका गर्ने ठाउँ छ।

सार्वजनिक दुई पोस्टरले एक सुखी परिवारमा अचानक आएको केही अनपेक्षित घटना संकेत गरेको छ। यसले पारिवारिक उतारचढाव र त्यसको बैठानका लागि हुने संघर्ष वरिपरि सिनेमाको कथा रहने अनुमान लगाउन सकिन्छ।

नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौती नै हरि लम्सालको निर्देशन रहेको चलचित्रको मुख्य कथा हो।

चलचित्रमा झरना थापा, सुहाना थापा, दिव्यदेव पन्त, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकी मुख्य भूमिकामा छन्।

निर्देशक हरि लम्सालको लेखन रहेको चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन्।

चलचित्र ‘बाः एक योद्धा’ का निर्माता वसन्त लम्साल हुन्। गायक तथा सर्जकसमेत रहेका लम्सालले यसअघि अभिनेता विपीन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए।

शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन्। ‘बा : एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।

प्रकाशित: २४ असार २०८३ १३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App