नेपालको ऊर्जा क्षेत्रलाई दिगो, लगानीमैत्री र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज ‘पावर नेपाल कन्क्लेभ २०८३’ आयोजना गर्दैछ।
कार्यक्रमले ऊर्जा उत्पादनदेखि लगानी, नीति सुधार र हरित विकाससम्मका विविध विषयमा सरोकारवालाबीच अर्थपूर्ण संवाद गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन् भने भारत सरकारका पूर्व सचिव तथा ऊर्जा विज्ञ अनिल स्वरुपले मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
कन्क्लेभमा दुई चरणमा प्यानल छलफल आयोजना गरिनेछ। पहिलो सत्रमा नेपालको ऊर्जा पारिस्थितिक प्रणाली, विद्युत् उत्पादन, प्रसारण, वितरण, ऊर्जा खपतको प्रभावकारिता तथा निजी क्षेत्रको भूमिकामाथि विज्ञहरूले धारणा राख्नेछन्।
दोस्रो सत्रमा नेपालको विद्युतीय भविष्यलाई अघि बढाउन आवश्यक वित्तीय स्रोत, लगानी विस्तार, नीतिगत सुधार तथा नवीन वित्तीय उपकरणबारे छलफल केन्द्रित हुनेछ।
कार्यक्रममा स्वदेश तथा विदेशका ऊर्जा विज्ञ, नीतिनिर्माता, उद्योगी, बैंकर, लगानीकर्ता र ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ। हरित ऊर्जा, डिजिटल पूर्वाधार र ऊर्जा क्षेत्रमा निजी लगानी आकर्षित गर्ने उपायहरू पनि छलफलका प्रमुख विषय रहनेछन्।
आयोजकका अनुसार कन्क्लेभले ऊर्जा क्षेत्रमा नीति निर्माणलाई थप प्रभावकारी बनाउन, सार्वजनिक–निजी साझेदारीलाई बलियो बनाउन तथा लगानीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
नेपाल रिपब्लिक मिडियाले यसअघि पनि अर्थतन्त्र, पूर्वाधार, पर्यटन, लगानी तथा राष्ट्रिय विकाससँग सम्बन्धित विभिन्न विषयमा उच्चस्तरीय बहस र संवाद कार्यक्रम आयोजना गर्दै आएको छ। यस्ता कार्यक्रमले सरकार, निजी क्षेत्र र विज्ञ समुदायबीच सहकार्य र नीति संवादलाई सुदृढ बनाउन सहयोग पुर्याउँदै आएका छन्।
ऊर्जा क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्थापित गर्ने लक्ष्यसहित आयोजना हुन लागेको ‘पावर नेपाल कन्क्लेभ २०८३’ ले ऊर्जा विकासका नयाँ अवसर पहिचान गर्दै सहकार्य, नवप्रवर्तन र दीर्घकालीन विकासको दिशामा महत्वपूर्ण मार्गदर्शन दिने अपेक्षा गरिएको छ।
कार्यक्रमको नागरिक न्युजको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणसमेत हुनेछ।
प्रकाशित: २४ असार २०८३ १३:०२ बुधबार





