ऐतिहासिक तथा प्राकृतिक सौन्दर्यले भरिएको सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत गढीको पुनर्निर्माण तथा युद्ध संग्रहालय निर्माण सम्पन्न भएपछि आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढेको हो।
सिन्धुलीमाढी र खुर्कोट बजारबाट करिब २० किलोमिटर दूरीमा रहेको सिन्धुलीगढीमा दैनिक दुई सयभन्दा बढी पर्यटक पुग्ने गरेका छन्। गढी दरबारसहित अन्य ऐतिहासिक संरचनाको पुनःनिर्माण र युद्ध संग्रहालय सञ्चालनमा आएपछि पर्यटक बढिरहेको राष्ट्रिय फोटोपत्रकार समूह नेपाल, सिन्धुली शाखाका अध्यक्ष उद्धव श्रेष्ठले बताए।
नागबेली सडक हुँदै पुगिने सिन्धुलीगढी कुहिरो, शीतल हावा र मनमोहक प्राकृतिक दृश्यका कारण वर्षभरि नै आकर्षक गन्तव्य बनेको छ। गर्मी र जाडो दुवै मौसममा तराईका जिल्लाबाट आउने पर्यटकहरू यहाँको मौसम र ऐतिहासिक महत्वबाट प्रभावित हुने गरेका छन्।
नेपाल–अंग्रेज युद्धसँग जोडिएको ऐतिहासिक स्थल सिन्धुलीगढीमा नेपाली सेनाको सहयोगमा करिब आठ करोड रुपैयाँको लागतमा निर्माण गरिएको युद्ध संग्रहालयमा तोप, घरेलु हातहतियार, युद्ध सामग्री तथा वृत्तचित्र प्रदर्शनीमा राखिएका छन्। विशेषगरी सार्वजनिक बिदा र नयाँ वर्षमा एक हजारभन्दा बढी पर्यटक पुग्ने गरेका छन्।
ऐतिहासिक महत्व, प्राकृतिक सौन्दर्य र पूर्वाधार विकासले सिन्धुलीगढीलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरिएको स्थानियको भनाई छ।
प्रकाशित: १७ पुस २०८२ १०:२९ बिहीबार





