१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

पर्यटकको आकर्षण केन्द्र साल्पा–सिलिचुङ क्षेत्र

यहाँको सबैभन्दा अग्लो साल्पा–सिलिछो चुचुरो र साल्पा पोखरी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेका छन्। विशेष गरी मुन्दुम पदमार्गमा आउने पर्यटकहरू यस स्थानलाई अनिवार्य रूपमा पुग्ने गन्तव्यका रूपमा लिने गरेका छन्।

समुद्री सतहबाट चार हजार एक सय ५५ मिटर उचाइमा रहेको सिलिचुङ डाँडाबाट सगरमाथासहित अन्य हिमाल नियाल्न सकिन्छ। हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकनका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्दो छ। चुचुरो चढे पश्चात देखिने वरिपरिका रमणीय दृश्यको आकर्षणले पर्यटकको मन लोभ्याउने गरेको छ।  

चुचुरोको काखमै रहेको साल्पा पोखरीले धार्मिक दृष्टिले विशेष महत्व राख्छ। भक्तजनहरूले मनोकामना पूरा हुने विश्वासका साथ यहाँ पूजाआजा गर्ने गरेका छन्। वर्षमा चारपटक–वैशाख, भदौ, कात्तिक र फागुन पूर्णिमामा–यहाँ मेला लाग्ने गर्दछ। ती अवसरमा भोजपुर, खोटाङ, सङ्खुवासभा, धनकुटा र सोलुखुम्बु लगायतका जिल्लाबाट भक्तजनको ठूलो भीड लाग्ने गरेको स्थानीयको भनाइ छ।  

यस स्थानलाई धामीझाँक्रीहरूले शक्तिको गुरुको रूपमा मान्ने परम्परा रहेको छ भने सन्तान नहुनेलाई सन्तान प्राप्त हुने, बोली नआउनेलाई बोली आउने विश्वासले मानिसहरू यहाँसम्म पुग्ने गरेका छन्।  

कचौरा आकारमा फैलिएको साल्पा पोखरी समय–समयमा रङ परिवर्तन गर्ने विश्वासले प्रख्यात छ। किरात राई समुदायले यसलाई आफ्ना पुख्र्यौली भगवान्का रूपमा पूजा गर्ने गरेका छन्।

स्थानीय जानकार चन्द्र खत्रीका अनुसार साल्पा–सिलिचुङ क्षेत्रलाई व्यवस्थित रूपमा विकास र प्रचारप्रसार गर्न सके ताप्लेजुङको पाथीभरा जस्तै लोकप्रिय धार्मिक–पर्यटन गन्तव्य बन्न सक्छ। चिताएको पूरा हुने विश्वासले मानिसहरू चार–पाँच दिनसम्म पैदल यात्रा गरेर यहाँ पुग्ने गरेका छन्। प्रख्यात पर्वतारोही तेन्जिङ हिलारीले सगरमाथा आरोहणका क्रममा यही पदमार्ग प्रयोग गरेको तथ्यले यस क्षेत्रलाई ऐतिहासिक महत्व दिएको छ।

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्वले भरिपूर्ण साल्पा पोखरी र सिलिचुङ चुचुरो अहिले पर्यटकको रोजाइको प्रमुख गन्तव्य बनेको छ। यसको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके यो क्षेत्र नेपालको महत्वपूर्ण धार्मिक–पर्यटन केन्द्रका रूपमा स्थापित हुने स्थानीयको भनाइ छ। रासस

प्रकाशित: २१ आश्विन २०८२ ०९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App