लमजुङको बेसीशहर नगरपालिका-९, दुईथोकमा आइतबार साँझ एक टिपर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
मिदिमखोला हाइड्रोपावरबाट बेसीशहरतर्फ आउँदै गरेको बा.प्र.०३-००१ क ०४६९ नम्बरको खाली टिपर सडकबाट करिब २०० मिटर तल खसेको हो।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार राति करिब ८ बजे चालकले नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा चालक सिन्धुपाल्चोक मेलम्ची-८ का २८ वर्षीय काजी गिरी, रामेछाप खनियापानी-२ का २० वर्षीय सुमन विक र मकवानपुर राक्सिराङ-१ का ४२ वर्षीय सुनिल मोक्तान घाइते भएका छन्।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्र बहादुर क्षेत्रीका अनुसार चालक गिरीको दुवै हात, खुट्टा र अनुहारमा चोट लागेको छ भने विकको ढाडमा भित्री चोट लागेको छ।
दुवैको अवस्था मध्यम रहेको छ। अर्का घाइते मोक्तानको छातीमा सामान्य चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते तीनै जनालाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रकाशित: २३ कार्तिक २०८२ २१:२९ आइतबार





