२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

झुम्का कारागारमा चार दिनको अन्तरमा तीन जना कैदी बन्दीको मृत्यु

उच्च ज्वरो र दीर्घ रोगी गरी एक हजार हाराहारी बिरामी

झुम्का कारागारका कैदी बन्दीका निम्ति बुधबार राति अकास्मिक रुपमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचार गर्दै चिकित्सकको टोली। तस्बिर: नागरिक

सुनसरीको झुम्का कारागारमा चार दिनको अन्तरमा तीन जना कैदी बन्दीको मृत्यु भएको छ । कारागारमा उच्च ज्वरोले यति बेला पाँच सय बढी कैदी बन्दीलाई सताएको छ । दीर्घ रोगीको संख्या पनि पाँच सयकै हाराहारीमा रहेकाले गर्दा यति बेला स्थिति नियन्त्रण बाहिर जान नदिनका लागि अलग अलग स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

बुधबार साँझ ज्वरोले बिरामी भएका सप्तरी राजविराज वडा नं. ८ घर भएका ४६ वर्षे जलेश्वर यादवको मृत्यु हुन पुग्यो । ‘हिजो मृत्यु हुने बिरामीको एक्कासि अक्सिजनको लेभल घटेपछि तत्काल अक्सिजन लगाएरै जिल्ला अस्पताल इनरुवा लग्यौँ,’ झुम्का कारागारका हेल्थ असिस्टेन्ट विनोद नेपालले बिहीबार अपराह्न भने, ‘अस्पताल पु¥याएपछि मृत्यु भयो ।’ मृतक यादव जर्वरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

उनी वैशाखदेखि कारागारमा पुर्पक्षका लागि सजाय भुक्तान गरी रहेका थिए । ‘अरु बेला उनलाई त्यस्तो कुनै समस्या देखिएको थिइन, एक्कासि समस्या देखा प¥यो,’ नेपालले भने, ‘मृतक यादवलाई कोरोनाको आशंकामा टेस्ट गर्न स्वाब पनि लिइएको छ । तर, त्यसको रिपोर्ट आइ सकेको छैन ।’

जलेश्वरसँगै आइतबार मात्र अचानक बिरामी भएर धरान वडा नं. १० का २४ वर्षे सागर राई र  गढी गाउँपालिका वडा नं. ६ का ५२ वर्षे रामदेव उराँवको मृत्यु भएको थियो । राईलाई भदौ १२ गते जिल्ला अस्पताल इनरुवामा उपचार गर्न लगेकोमा चिकित्सकले सामान्य भएकाले औषधी सेवन गर्न सुझाव दिएर कारागार नै फर्काएका थिए । तर, भोलिपल्ट झन गाह्रो भएपछि भदौ १४ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै भर्ना गरिएको थियो । तर, उनको भर्ना भएको एक दिनपछि मृत्यु हुन पुग्यो ।  

‘सागरमा भने किड्नीको समस्याले गर्दा मृत्यु भएको रिपोर्टमा देखिएको छ,’ हेल्थ असिस्टेन्ट नेपालले भने, ‘उनी लागू औषध सेवनकर्ता भएकाले गर्दा थुप्रै पटक पक्राउ पर्ने अनि कारागार आउँजाउँ गरी रहन्थे ।’ राई लागु औषध मुद्दामा गत वैशाखदेखि पुर्पक्षको लागि कारागारमा कैद भुक्तान गरिरहेका थिए ।

कारागारमा सोमबार मात्र मृत्यु भएका रामदेव दमको पनि पहिलादेखि समस्या भएकाले गर्दा अक्सिजन लेभल घटेरै अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु हुन पुग्यो । उराव कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए । उनलाई अदालतले २५ वर्ष सजाय तोकेकोमा २०७७ सालदेखि कैद सजाय भोगिरहेका थिए ।

दुई साता अघिदेखि सात–आठ जनाबाट सुरु भएको झुम्का कारागारका कैदीबन्दीमध्ये सिकिस्त १३ जना उच्च ज्वरोका बिरामीलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको कारागार प्रशासनले जनाएको  छ । अहिले झुम्का कारागारमा पाँच सय भन्दा बढी ज्वरोका बिरामी रहेका छन् । ती बिरामीका लागि जिल्ला अस्पताल इनरुवा र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको टोलीलाई झिकाएर बुधबार मध्यरातसम्म स्वास्थ्य शिविर सञ्चालन गरियो ।

‘बिरामीका लागि चिकित्सकको टोलीले चेकजाँच गरी आवश्यक औषधी दिइएको छ,’ निम्ति जेलर राम निरौलाले भने, ‘बिरामीको संख्या बढे रहे पनि चिकित्सकको टोली हाइ अर्लटमा राखेर चेकजाँच गर्ने काम पनि भइरहेको  छ ।’ टोलीले ५० जनाको किड प्रयोग गरी कोरोना परीक्षण गर्दा सबैको नेगेटिभ रिजल्ट आएको छ । ५० जनाको डेंगु परीक्षण गर्दा एक जनाको पोजेटिभ रिजल्ट आएको  छ ।  

विशेष सावधानी अपनाउन आवश्यकता अनुसार स्वास्थ्यकर्मीको टोली निरन्तर रुपमा परिचालन गरिने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए । उनका अनुसार कुनै सिरियस बिरामीलाई तत्काल अन्यत्र ठूला अस्पतालमा रेफर गरिनेछ । कारागारमा जिल्ला अस्पताल र प्रदेश स्वास्थ्य कार्यालयको अलग अलग टोली बिरामीको निगरानी र समस्या पहिचान गर्न खटिएको छ । बिरामीको रेखदेख र रोग नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन अन्तर्गतको निकाय पनि खटेको छ ।  

बिहीबार मात्र  झुम्का कारागारका कैदीबन्दीमध्ये विभिन्न प्रकारको रोगको परीक्षण गर्न ६३ जनाको रगतको नमूना लिइएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंका अनुसार बिरामीमध्ये प्रायःको लक्षण ज्वरो, सुक्खा खोकी, जीउ दुख्ने, आँखा रातो र बेला बेला मनस्थिति परिवर्तन हुने रहेको पाइएको छ ।  

बिरामीमध्ये अधिकतरमा भिटामिन ‘डी’  र क्यालसियमको कमी पनि रहेको पाइएको छ । कारागारमा रहेका बिरामीलाई सिजनल रुघाखोकी, जापनिज इन्सेफ्लाइट्सि, मलेरिया, डेगु लगायतका समस्या हुन सक्ने भएकाले गर्दा रोग पहिचान गर्ने ढंगले ब्लडको नमूना संकलन गरिएकाले चाडै रिपोर्ट आएपछि रोग पहिचान भएपछि सहज हुने कोशी प्रदेश स्वास्थ्य आपत्कालिक कार्यसम्पादन कार्यालयका डाक्टर समीर पराजुलीले बताए । २० दिनअघि कारागारकै कैदी भोजपुर हतुवा गढी वडा नं. ४ का मानबहादुर राईलाई जापनिज इन्सेफलाइट्सिको समस्याले गर्दा यति बेला बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै उपचार भइरहेको छ।

झुम्का कारागारमा दुई महिना अघि मात्र केही कैदीबन्दीमा खुट्टा सुनिने समस्या देखा परेको थियो । त्यसलाई निको पारे लगतै केहीमा प्रेसर बढ्यो । प्रेसर पनि कन्ट्रोल भएपछि ज्वरोका बिरामी क्रमशः बढेर ठूलो संख्या पुगेको स्वास्थ्यकर्मी नेपालले अनुभव सुनाए ।

कोशी प्रदेशका प्रायः सवैजसो पहाडी जिल्लाका कारागारबाट दीर्घ रोगीलाई उपचार गर्न सहज हुने ढंगले हरेक महिना २० जनासम्म झुम्का नै स्थानान्तरण गर्ने गरिएको  छ । अन्यत्र तिरका कैदीबन्दी झुम्कामा स्थानान्तरण गर्नाले यति बेला पाँच सयको हाराहारीमा दीर्घ रोगी रहेका छन् । जसमा टिभी, दम, सुगर, प्रेसर, थाइराइड र मानसिकका बिरामी रहेका छन् । ठूलो संख्यामा बिरामी हुँदा नियन्त्रणका लागि चुनौती भएता पनि ह्यान्डल गर्ने काम भइरहेको जानकारी दिइयो । रोग सर्न नदिन कैदी बन्दीलाई भेट्ने आफन्त र शुभेच्छुकलाई पनि कडाइसँगै सावधानी अपनाइएको छ ।

खास गरेर झुम्काभन्दा पनि बाहिरी स्थानबाट स्थानान्तरण भएर आएका बिरामीकै कारण समस्या बढी देखिएको प्रजिअ मिश्रले भने । ‘उही (अन्य कारागारमा) नै धराप भई सकेको हुन्छ, प्रक्रिया पु¥याएर यहाँ (झुम्का) उपचार गर्न ल्याएको केही समयपछि मृत्यु हुने गरेको छ,’ उनले भने ।

त्यसो त भदौ पहिलो साता मात्र झुम्का कारागारमै लागू औषध मुद्दामा धरौटी बुझाउन नसकेर पुर्पक्षका लागि कारागार चलान भएका भोजपुर हतुवागढीका २८ वर्षे विकास राईको मृत्यु भएको थियो । विकासमा लागू औषध सेवनकै कारण त्यसको असरले गर्दा बेला बखत बिरामी हुने गर्थे । उनी २०८१ चैत २६ गतेदेखि कारागारमा रहेका थिए ।

झुम्का कारागारको ब्लक ‘ए’ र ‘बि’ गरी १ हजार सात सय ९८ जना कैदी रहेका छन् । देशभरका कारागारमध्ये तेस्रो बढी संख्या भएको कारागारमा झुम्का पर्छ । सबैभन्दा बढी केन्द्रीय कारागार र त्यसपछि दोस्रोमा वीरगन्ज कारागारमा कैदीबन्दी रहेका छन् ।

प्रकाशित: १९ भाद्र २०८२ १७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App