कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ बर्गदास्थित हुलाकी सडक खण्डमा टेलर पल्टिँदा तीन जना घाइते भएका छन्।
शुक्रबार बिहान करिब १० बजे तौलिहवाबाट बहादुरगञ्जतर्फ जाँदै गरेको लु २ ख ६१४१ नम्बरको खाली टेलर अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा टेलर चालकसहित तीन जना घाइते भएका छन्। घाइते हुनेमा ५५ वर्षीय जंगबहादुर गुरुङ १९ वर्षीय मिलन नेपाली २० वर्षीय दिपक बि.क. रहेका जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।
घाइते तीनै जनालाई उपचारका लागि भीम अस्पताल भैरहवा पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि सडक अवरुद्ध नभएको र सवारी आवागमन सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रकाशित: ११ वैशाख २०८३ ११:२९ शुक्रबार





