नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका तर्फबाट सरकारमा सहभागी ४ जना मन्त्रीलाई बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
नेकपा एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन बुधबार साँझ ५ बजेदेखि लागू हुने गरी फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए।
मुख्यमन्त्री शाहले साढे ५ अर्ब बजेट आफ्नो निर्वाचन क्षेत्रमा मात्र विनियोजन गरेको उनको भनाइ थियो। कयौँ पटक छलफल गर्दा पनि मुख्यमन्त्रीले दम्भ देखाएको उनले बताए।
यसअघि मुख्यमन्त्री शाहले सरकारमा रहेका एक राज्यमन्त्री र तीन मन्त्रीलाई बर्खास्त गरेका थिए। मन्त्री बर्खास्तपछि रिक्त भएका ती मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैँले सम्हालेका छन्।
२०८१ साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका शाह एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका छन्।
प्रकाशित: ३१ असार २०८३ १७:२९ बुधबार





