रौतहटको ईशनाथ नगरपालिका–४ लतमरी पोखरीमा एक भारतीय युवकको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार भारतको बिहार राज्य, मोतिहारी जिल्ला, ढाका ग्राम पञ्चायत–३०, लाल मोहम्मद गाउँका २३ वर्षीय मोहम्मद वजिरको शव स्थानीय मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा फेला परेको हो।
प्रहरीका अनुसार मंगलबार राति करिब ९:३० बजे एक युवकले पोखरीमा हाम फालेको भन्दै स्थानीय बासिन्दाले प्रहरी चौकी मठियालाई जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक राजकर्ण राउत तथा सशस्त्र प्रहरी बल बीओपी औरैयाका सशस्त्र प्रहरी निरीक्षक बलबहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा खटिएको थियो। टोलीले रातभर खोजतलास गरे पनि युवक फेला पार्न सकेको थिएन।
बुधबार बिहान भने सोही पोखरीबाट युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमले जानकारी दिए।
उनका अनुसार शवको सनाखत मृतकका दाजु जहिर अहमदले गरेका छन्।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए।
प्रकाशित: ३१ असार २०८३ १७:२८ बुधबार





