२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

मधेसमा मनाइयो तीन छठ्ठी पर्व

आफ्नो पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु मधेसी समुदायका महिलाहरूले बिहीबार तराई मधेस सहित कपिलवस्तुमा धूमधामसँग तीन छठ्ठी ( हल ) पर्व मनाएका छन् । आफ्ना सन्तान र श्रीमानको लामो आयुको  कामना गर्दै उनीहरुले हर्षोल्लासका साथ सो  पर्व मनाएका हुन । पूजाका लागि चाहिने महुवाको पात र कुश लिनकालागि तिलौराकोट नजिकै रहेको जंलमा भीड लागेको थियो । 

विशेष गरी कुशको पूजा गर्नकालागि व्रतालु महिलाहरु तौलिहवा स्थित प्रहरी कार्यालय बाहिर र नेपाली सेनाको ब्यारेक, चौबिस हजार नहर लगायतका कुश भएका विभिन्न स्थानमा पुगेका थिए ।  त्यहाँ भक्तजनहरूको भीड लागेको थियो । कतिपय भने आफनै घरमा पूजा गरेका थिए । भदौ शुक्ल षष्ठीको दिन पर्ने सो चाड उनीहरुले  व्रत र पूजा पाठ गर्ने गर्दछन् ।  उम्रेको कुशको पूजा गर्न भक्तजन महिलाको भीड लागेको थियो । पर्वका दिन बिहानै व्रतालु महिलाले महुवाको दतिवनलेले दाँत माझ्ने चलन छ । सो पर्वका दिन मधेसी समुदायका महिलाले बिहानै स्नान गरी व्रत,पूजापाठ र भजन कीर्तन गरी तीन छठ्ठी  पर्व मनाउने गर्दछन् । 

छोरा हुने महिलाले सन्तानको सुख शान्ति र दीर्घायु तथा छोरा नभएका महिलाले छोरा जन्मिउन भनी यो व्रत राख्ने चलन रहेको कपिलवस्तु नगरपालिका वडा नम्बर १ की कौशल्या गुप्ताले बताईन ।  उनले ३ छठ्ठी माताको व्रत बस्ने परिवार कै फलीफाप हुने विश्वास व्यक्त गरिन । उपवास सके पछि हलो नजोतिएको खेतको अन्न अर्थात (तिन्नीको चामल)  जङ्गली धानको चामलको भात र साग खाएर महिलाहरूले व्रत गर्ने गर्दछन् । व्रतका बेला कुश सँगै देवीहरूको मन्दिर पूजाआजा गर्ने प्रचलन छ । पूजाका लागी चिनी नहालेको दही, हर्दी, चामल महुवा र चनालाई एकै ठाउँमा मुछेर प्रसाद बनाइन्छ । व्रतालु प्रत्येक महिलाले ३ वटा पनास र ७ वटा महुवाको पातमा सो प्रसादलाई राखेर कुशलाई गर्ने गरिन्छ । 

कुशको पूजा गरी त्यसमा ६ वटा गाँठो बाँध्ने गरिन्छ कुशको सामूहिक पूजा सकिए पछि महिलाहरूले साहु बनाएर तीन छठ्ठी  पर्वको कथा समेत सुनाउने गर्दछन् । एक दशक तीन छठ्ठी पर्व मान्ने महिलाहरूको संख्या बढ्दै गएको कपिलवस्तु नगरपालिका– २ जमुहार टोल की अनिता त्रिपाठीले बताईन । भदौ षष्ठिका दिन बलरामको जन्म दिन परेकोले उनैका पूजाआजा गरी सन्तान र श्रीमानको दीर्घायुको कामनाकालागि यो पर्व मनाउने चलन रही आएको भक्तजनहरु बताउँछन् । यो पर्वका बिषयमा विभिन्न ६ वटा कथाहरू रहेको भक्तजनहरु बताउँछन् ।  बैदिक कालमा एक जनप्रेमी राजाले अनिकाल परेको भन्दै पोखरी खनाएका थिए । तर पोखरीमा पानी नआए पछि उनले आफ्नो नातिको बली दिए पश्चात् पोखरीमा पानी निस्किएको  थियो । त्यस पछि राजाकी बुहारीले तीन छठ्ठी देवीको व्रत राख्दा पुनः राजाको नाति जीवित भएको प्रसङ्ग जोडी यो व्रत गर्ने प्रचलन रही आएको छ ।

प्रकाशित: २९ श्रावण २०८२ १२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App