नेपाल रिपब्लिक मिडियाका अध्यक्ष शोभा ज्ञवालीको तेस्रो कृति ‘मन्दाकिनी’ सार्वजनिक भएको छ।
शनिबार राजधानीमा आयोजित एक विशेष समारोहका बीच कथा संग्रह ‘मन्दाकिनी’ को विमोचन गरिएको हो।
‘मन्दाकिनी’ मा समकालीन नेपाली समाजका विविध आयाम, संवेदना र परिवर्तनको आकाङ्क्षालाई समेटिएको छ।
कार्यक्रममा बोल्दै लेखिका ज्ञवालीले यस कृतिलाई परिवर्तनतर्फको सानो यात्रा भएको बताइन्। ‘यो कृति समाजभित्र गुम्सिएका आवाजहरूलाई उजागर गर्ने र समाजका यथार्थ विषयवस्तुलाई शब्दमार्फत बाहिर ल्याउने एउटा प्रयास हो।’ उनले भनिन्।
ज्ञवालीले आगामी दिनमा पनि समाजका कथा र आवाजलाई लेखनमार्फत् निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
विमोचन समारोहमा उपस्थित साहित्यकार तथा वक्ताहरूले ज्ञवालीको लेखन शैली सरल, प्रभावकारी र समाजप्रति उत्तरदायी रहेको टिप्पणी गरे।
उनीहरूले ‘मन्दाकिनी’ ले पाठकलाई सोच्न, अनुभूति गर्न र सकारात्मक परिवर्तनतर्फ उन्मुख हुन प्रेरित गर्ने विश्वास व्यक्त गरे।
यसअघि ज्ञवालीका ‘सम्पूर्ण आकाश’ र ‘संघर्ष’ नामक कृतिहरू प्रकाशित भइसकेका छन्। ती कृतिहरूले जस्तै ‘मन्दाकिनी’ ले पनि सामाजिक यथार्थलाई केन्द्रमा राख्दै मानव संवेदनाको गहिराइ स्पर्श गर्ने विश्वास व्यक्त गरिएको छ।
हेराैं तस्बिरहरु, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक



















प्रकाशित: २ फाल्गुन २०८२ १४:३१ शनिबार





